पत्रकार पालुङवा सहित एक समाजसेवी र रेडक्रस उपशाखालाई पुरस्कृत गर्दै टीकाराम गौतम स्मृति प्रतिष्ठान
ताप्लेजुङ,बैशाख ८ । पत्रकार बसन्त पालुङवा सहित एकजना समाजसेवी र नेपाल रेडक्रस सोसाईटीको एक उपशाखालाई शनिवार टीकाराम गौतम स्मृति प्रतिष्ठानले पुरस्कृत गर्ने भएको छ ।
प्रतिष्ठानले पत्रकार पालुङवा र समाजसेवी ताप्लेजुङको खेवाङ घर भई हाल झापा बस्दै आउनु भएका प्रेमप्रसाद दाहाललाई पुरस्कृत गर्न लागिएको हो । उत्कृष्ट कार्य सम्पादन गर्ने नेपाल रेडक्रस सोसाईटी अन्र्तगत ताप्लेजुङ भरीका उपशाखामध्ये यसबर्ष हाङ्देवा उपशाखा सम्मानित हुन लागेको प्रतिष्ठानका सदस्य विकास गौतमले जानकारी दिनुभयो । यहाँस्थित रेडियो तमोरका स्टेशन म्यानेजर समेत रहनु भएका पालुङवा अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत रहनु भएको छ । पत्रकार महासंघ ताप्लेजुङका सहसचिव समेत रहनु भएका पालुङवालाई ५ हजार १ सय ५ रुपैयाँ राशी सहित पुरस्कृत गरिने भएको छ ।
यस्तै समाजसेवी दाहाल समान ५ हजार १ सय ५ रुपैयाँ राशीको सहित पुरस्कृत हुन लाग्नु भएको छ । सिरिजङ्गा गाउँपालिका खेवाङका दाहालले चराचुरुङगी सहितका अन्य वन्यजन्तुलाई पानी खान सहज होस् भनेर जंगलको बीचमा रहेको ढुङ्गा खोपेर ठाउँठाउँमा पानी जमाउने पोखरी बनाउनु भएको थियो । उहाँको यो कार्यको ब्यापक प्रशंसा भएको थियो । यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने नेपाल रेडक्रस सोसाईटीको हाङ्देवा उप शाखालाई नगद १० हजार १ सय ५ रुपैयाँ सहित सम्मान गर्न लागिएको छ ।
रेडक्रसको जिल्ला सभापति रहेकै बखत २०६६ कातिक ११ गते निधन हुनुभएका गौतमको परिवारले उहाँको स्मृतिमा प्रतिष्ठान खोलेर सामाजिक सेवा,पुरस्कार तथा सम्मान बितरण गर्दै आईरहेको छ । गौतमको २०१३ बैशाख ९ गते जन्म भएको थियो । यहि जन्मदिनको अवसर पारेर पुरस्कार तथा सम्मान बितरणको कार्यक्रम राखिएको टीकाराम गौतम समृति प्रतिष्ठानका अध्यक्ष तोया गौतमले जानकारी दिनुभयो ।