| |

औद्योगिक मेलामा टपरी बनाउने प्रतिस्पर्धा

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २३ । ताप्लेजुङमा परम्परागत टपरी बनाउने (गाँस्ने) प्रतिस्पर्धा भएको छ । दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सवको अवसरमा बिहीबार पातको टपरी बनाउने प्रतिस्पर्धा गराइएको हो ।
प्रतिस्पर्धामा सहभागीले साल, कटुस, काठे बरलगायतको पातबाट परम्परागत टपरी बनाएका थिए । मेला तथा महोत्सव आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले टपरी बनाउने प्रतिस्पर्धामा करिव ५० जनाले सहभागिता जनाएका जानकारी दिनुभयो । अध्यक्ष भारतीका अनुसार टपरी बनाउने प्रतिस्पर्धामा केही पुरुषसमेतले सहभागिता जनाएका छन् ।
परम्परागत सीपको प्रवर्द्धन गर्ने र नयाँ पुस्तालाई यसबारे ज्ञान प्रदान गर्ने उद्देश्यसहित टपरी बनाउने प्रतिस्पर्धा गराएको उद्योग महासंघका जिल्ला सचिव हर्कराज गुरुङले जानकारी दिनुभयो । पातबाट निर्माण गरिने परम्परागत टपटरी बनाउँदा पातको सङ्ख्या, पात जोड्दा प्रयोग गरिने पिन (सिन्का) आदिबारे ज्ञान हुन जरुर रहेको अग्रजहरु बताउँछन् ।
टपरी बनाउने प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले टपरी बनाएरै (गाँसेर) शुभारम्भ (उद्घाटन) गर्नुभयो । कार्यक्रमको शुभारम्भ गर्नुहुँदै प्रजिअ चेम्जोङ आफ्ना पुर्खा तथा अग्रजहरुले गरिल्याएको सीप वा कामको अनुशरण नगर्दा परम्परागत सीप हराउँदै गएको बताउनुभयो । पराम्परागत सीपको प्रतिस्पर्धाले पुरानो सीप तथा कामको पुस्तान्तरणमा सहयोग पुग्ने बताउनुभयो ।
यता टपरी बनाउने प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई उचित पुरस्कारको व्यवस्था गरिएको महासंघका सचिव गुरुङले बताउनुभयो । उद्यम व्यवसाय तथा घरेलु उत्पादनको प्रवर्द्धन गरी पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यसहित नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले मेला तथा महोत्सवको आयोजना गरेको हो । सदरमुकाम फुङ्लिङमा मङ्गलबार सुरु भएको पाँच दिने मेला तथा महोत्सव शनिबार सम्पन्न हुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts