टिपताला नाका सञ्चालनमा ल्याउन संघीय सरकार गुहार्दै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २१ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कोभिड–१९ महामारीसंगै बन्द रहेको पूर्वोत्तर नेपालको सीमानाका टिपताला खुलाउने कार्यको सहजीकरणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेको छ ।
पालिका अध्यक्ष राजन(मुक्ति)लावुङको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको पालिकाको टोलीले बन्द रहेको टिपाताला नाका खुल्ला गरी स्थानीयको दैनिकी सहज बनाइदिन सरकारको ध्यानाकर्षण गरेको हो । सीमावर्ती क्षेत्र ओलाङचुङगोला,याङ्मा,फले र घुन्सावासीको मुख्य पेशाको रुपमा रहेको पशुपालन,जडिबुटी संकलन र गलैंचाको उत्पादनको मुख्य निर्यात तिब्बततर्फमात्र निर्यात हुने स्मरण गराउँदै गाउँपालिकाले नाका बन्द हुँदा स्थानीयको उत्पादन निर्यात हुन नसकेको तथा नेपाली सीमावर्ती क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य बस्तु आयात गर्न नसकेकोले समस्या सृजना भइरहेको बताएको छ । यो असहज अवस्थाको अन्त्यका लागि टिपाताला नाका सञ्चालनमा आउनुपर्ने भन्दै गाउँपालिकाले तत्काल यो नाका सुचारु गरी निर्यात र आयातको सहज प्रवन्धको वातावरण तयार गर्न आवश्यक रहेकोमा जोड दिएको छ ।
उत्तरी ताप्लेजुङको सीमावर्ती क्षेत्रका बासिन्दाको दैनिक उपभोग्य बस्तुको आयात तथा निर्यात तिब्बत बजारमै निर्भर रहने विगत स्मरण गराउँदै पालिकाले जिल्ला सदरमुकाम फुङलिङसंग सडक सञ्जाल समेत जोडिई नसकेको अवस्थामा दैनिक उपभोग्य बस्तुको आपूर्ति असहज भईरहेको बताएको छ । सदरमुकाम फुङलिङबाट दैनिक उपभोग्य बस्तुको आयात गर्दा सीमावर्ती क्षेत्रका बासिन्दाले तिब्बती बजार रिउबाट खरिद गरी ल्याउन भन्दा तीनगुणा भन्दा महंगो पर्न जाने भएकोले टिपताला नाका सञ्चालनमा ल्याई उत्तरी ताप्लेजुङको सीमावर्ती क्षेत्रका बासिन्दाको दैनिकी सहज बनाईदिन गाउँपालिकाले केन्द्रीय सरकार गुहारेको छ । यसअघि यहाँबाट निर्वाचित प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले समेत टिपताला नाका तत्काल सञ्चालनमा ल्याउने वातावरणका लागि सरकारको ध्यानाकर्षण गर्नु भएको थियो ।