कृषि मजदुरको ज्याला बृद्धि देखि उत्पादनको हिसावमा अनुदानको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सरोकारवालाको सुझाव

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १ । ताप्लेजुङका सरोकारवालाहरुले कृषि मजदुरको ज्याला बृद्धि देखि किसानको जेथा राखेर सहुलियत ऋण दिन र उत्पादनको हिसावमा मात्र अनुदान उपलब्ध गराउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।
पूर्व बजेटकालिन सुझाव लिन पहिलोपटक पूर्वी हिमाली क्षेत्र आइपुगेको नेपाल राष्ट्र बैंकको टोलीलाई यहाँका सरोकारवालाले बिषगत सुझाव दिएका छन् । कृषि,पर्यटन,उद्योग,बित्तीय,सेवा क्षेत्र र अन्तर सरकारी निकाय गरी बिषयगत रुपमा केन्द्रित रहेर राष्ट्र बैंकले सुझाव लिएको थियो । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले बिषयगत क्षेत्रका आधारमा प्राप्त सुझावलाई एकिकृत गरी साझा दस्तावेज बनाउने बताउनुभयो । उहाँका अनुसार होटल र पर्यटन व्यवसायलाई सेवा क्षेत्रबाट हटाएर उद्योग क्षेत्रमा समाबिष्ट गर्न समेत सुझाव आएको छ । निर्वाहमुखी कृषि पेशालाई पूर्णतयाः व्यावसायिकरण गर्न उत्पादनयोग्य जग्गामा भईरहेको खण्डीकरण रोक्नुपर्ने,बिदेशबाट आयात हुने तरकारी र फलफुलजन्य उत्पादनको उपभोग नियन्त्रण गर्न नेपाली भूमीमा भईरहेको उत्पादन र उत्पादकत्व बृद्धिका लागि उत्पादन लागतका आधारमा अनुदान र सहुलियत उपलब्ध गराउनुपर्ने,मल र बीऊबिजनमा भईरहेको अनुदान कटौति तत्काल खारेज गर्नुपर्ने लगायतका सुझाव प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । कृषि श्रम बजार व्यवस्थित नगरेसम्म जमिन बाँझो रहने प्रकृयाको अन्त्य नहुने निश्कर्ष समेत सरोकारवालाको रहेको छ । त्यसका लागि कृषि मजदुरले प्राप्त गर्ने पारिश्रमिकमा उचित तवरले बृद्धि र खेतियोग्य जमिनमा भइरहेको खण्डीकरण रोक्नु अनिवार्य भएको भन्दै सरोकारवालाले नेपाल राष्ट्र बैंकको ध्यानाकृष्ट गरेका छन् ।
प्रविधि र उपकरणमा ५० प्रतिशत अनुदानका नाममा किसानको खर्च अनुदान भन्दा बढी हुने गरेको भन्दै किसान प्रतिनिधिले‘हामी किसानलाई अनुदान की दण्ड दिदैछौं’भनी प्रश्न गरेका थिए । किसानले गरेको उत्पादन व्यवसायीको हातमा पुग्ने र तर फेरी त्यो लगानी कृषि क्षेत्रमा नफर्किने भएकोले किसान दोहोरो मारमा परेको भन्दै सुझावका क्रममा कृषि क्षेत्रमा उच्च तहको लगानीको वातावरण तयार गर्न समेत किसानहरुकोतर्फबाट सुझाव आएको छ । ‘कमाएर मात्र होईन,आम्दानी बचाएर मात्र आर्थिक समृद्धि सम्भव छ भन्ने धारणालाई संस्थागत गर्नेगरी योजना बनाउन आवश्यक रहेको छ’कार्यक्रममा सुझाव दिदैं साना उद्यमीहरुले भनेका थिए । सहुलियतको अभावमा उत्पादन लागत बढेकोले उत्पादन मूल्य बढी भई खासगरी भारतीय बजारको उत्पादनसंग नेपाली उत्पादनले प्रतिश्पर्धा गर्न नसक्ने अवस्था पुगेकोतर्फ सचेत हुन र सोहि अनुसारको नीतिगत प्रवन्ध गर्न समेत किसान तथा व्यवसायीहरुले सुझाव दिएका छन् । नेपालबाट निर्यात हुने मुख्य नगदेवाली अलैंचीको सर्मथन मूल्य कायम गर्न,उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा व्यावसायिक प्रतिश्पर्धा शिथिल भएको अवस्था बुझेर नीति कार्यक्रम बनाउन,उत्पादित बस्तुको प्रवद्र्धन र बजारीकरणमा जोड दिन समेत सरोकारवालाले सुझाव दिएका छन् । सुझावका क्रममा पाथीभरा क्षेत्रमा केवलकार निर्माण देखि तमोर करिडोर चाँडै निमार्ण सम्पन्न गर्नुपर्ने र कोभिड संक्रमण पछि बन्द रहेको नेपाल–तिब्बत उत्तरी सीमा नाका टिपताला तत्काल सञ्चालनमा ल्याउनुपर्ने सम्मका बिषयले प्रवेश पाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts