किसान महासंघको जिल्ला अध्यक्षमा रसिक राई चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १२ । ताप्लेजुङमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को जिल्ला भेलाले रमेशकुमार राई (रसिक) अध्यक्ष रहेको जिल्ला कार्यसमिति चयन गरेको छ । सदरमुकाम फुङ्लिङमा आइतबार सम्पन्न प्रथम जिल्ला भेलाले राईको अध्यक्षतामा किसान महासंघको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षहरुमा देवीमाया पालुङ्वा, रेन्डबहादुर कार्की र जीवन खतिवडा, सचिव निमारिन्जी शेर्पा, सहसचिव राजकुमार माबो र कोषाध्यक्षमा फुलमाया गुरुङ चयन हुनुभएको छ । यता महासंघको पालिकास्तरीय भेला तथा अधिवेसन सम्पन्न गर्नका लागि संयोजन गर्ने जिम्मेवारी तोकिएको नेकपा (माओवादी केन्द्र) का ताप्लेजुङ संयोजक विष्णुकुमार लिम्बू (बिरु) ले जानकारी दिनुभयो ।
महासंघको जिल्ला भेलामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुडाक्षेत्री ‘पराग’ लगायतले शुभकामना दिनुभएको थियो ।