जनगणनाको नतिजा ः कोशी प्रदेशका ताप्लेजुङ सहित ३ जिल्लामा महिला भन्दा पुरुष बढी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १० । कोशी प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङ,संखुवासभा र सोलुखुम्बुमा महिला भन्दा पुरुषको जनसंख्या बढी देखिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को शुक्रवार प्रकाशित नतिजामा कोशी प्रदेशका १४ मध्ये ३ जिल्लाको संख्यामा महिला तथा भन्दा पुरुष बढी देखिएका छन् । प्रतिबेदन अनुसार ताप्लेजुङको कूल जनसंख्या १ लाख २० हजार ५ सय ९० कायम भएको छ । यसअघि प्रारम्भिक प्रतिबेदनमा १ लाख २० हजार ३ सय ५९ जनसंख्या देखिएको थियो । कूलमध्ये ताप्लेजुङमा पुरुषको संख्या ६० हजार ७ सय ७३ र महिलाको संख्या ५९ हजार ८ सय १७ देखिएको छ । यस्तै १ लाख ५८ हजार ४१ जनसंख्या रहेको संखुवासभामा ७९ हजार ५ सय ७९ पुरुष र ७८ हजार ४ सय ६२ महिला देखिएका छन् । १ लाख ४ हजार ८ सय ५१ जनसंख्या रहेको सोलुखुम्बुमा ५२ हजार ७ सय ४७ पुरुष र ५२ हजार १४ जना महिलाको संख्या देखिएको छ । यि बाहेक प्रदेश १ का अरु ११ जिल्लामा भने पुरुष भन्दा महिला बढी देखिएका छन् ।
१ लाख ३९ हजार ५ सय ५२ जनसंख्या रहेको ओखलढुङ्गामा ७१ हजार ४ सय ७२ महिला र ६८ हजार ८० जना पुरुष छन् । १ लाख ७५ हजार २ सय ९८ जनसंख्या रहेको खोटाङमा ८८ हजार ६ सय ६१ महिला र ८६ हजार ६ सय ३७ पुरुष रहेका छन् । १ लाख ५७ हजार ९ सय २३ जनसंख्या रहेको भोजपुरमा ७९ हजार ७ सय १२ महिला र ७८ हजार २ सय ११ पुरुष रहेका छन् । १ लाख ५० हजार ५ सय ५९ जनसंख्या रहेको धनकुटामा ७७ हजार ७ सय ७५ महिला र ७३ हजार ८ सय २४ पुरुष रहेका छन् । १ लाख ७२ हजार ४ सय जनसंख्या रहेको पाँचथरमा ८६ हजार ७ सय १७ महिला र ८५ हजार ६ सय ८३ पुरुष रहेका छन् ।
प्रदेशभरीमै सबैभन्दा कम अर्थात् ८८ हजार ७ सय ३१ जनसंख्या रहेको तेह्रथुममा ४५ हजार १ सय ५० महिला र ४३ हजार ५ सय ८१ पुरुष रहेका छन् । २ लाख ७९ हजार ५ सय ३४ जनसंख्या रहेको इलाममा १ लाख ४० हजार १ सय ३ महिला र १ लाख ३९ हजार ४ सय ३१ पुरुष रहेका छन् । ३ लाख ४० हजार ७ सय २१ जनसंख्या रहेको उदयपुरमा १ लाख ७६ हजार ९ सय ८३ महिला र १ लाख ६३ हजार ७ सय ३८ पुरुष जनसंख्या रहेका छन् ।
प्रदेशभरीमै सबैभन्दा बढी जनसंख्या भएको मोरङमा ११ लाख ४८ हजार १ सय ५६ जनसंख्या पुगेको छ । त्यसमध्ये ५ लाख ९० हजार ६ सय ४४ महिला र ५ लाख ५७ हजार ५ सय १२ पुरुष रहेका छन् । ९ लाख ९८ हजार ५४ जनसंख्या भएको झापामा ५ लाख १९ हजार ५ सय ४५ महिला र ४ लाख ७८ हजार ५ सय ९ जना महिला रहेका छन् । ९ लाख २६ हजार ९ सय ६२ जनसंख्या भएको सुनसरीमा ४ लाख ७७ हजार ९ सय ३९ महिला र ४ लाख ४९ हजार २३ जना पुरुष रहेका छन् ।
ताप्लेजुङमा २७ हजार ७ सय ९८ परिवार
ताप्लेजुङमा जम्मा २७ हजार ७ सय ९८ घर परिवार देखिएका छन् । २०६८ सालको जनगणनामा यहाँ २७ हजार २ सय ४१ घर परिवार देखिएका थिए । परिवारको औसत दर ४.३४ देखिएको छ भने लैंगिक अनुपात प्रतिसय महिलामा पुरुषको संख्या १.०२ देखिएको छ । जनघनत्व भने ३३ रहेको छ ।