| |

हिमाली गाउँ घुन्सामा पहिलो पटक आँखा शिविर

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ९ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको काखमा रहेको ताप्लेजुङको दुर्गम गाउँ घुन्सामा पहिलो पटक निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा सोमबार आँखा शिविर सञ्चालन गरिएको हो । घुन्सा तीन हजार ४५० मिटर बढी उचाइमा रहेको हिमाली बस्ती हो ।
फक्ताङ्लुङ गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालित आँखा शिविरबाट ८१ जनाले सेवा लिएका छन् । शिविरमा आँखा परीक्षण तथा उपचार सेवा लिएकामध्ये दुईजनामा मोतियाविन्दु फेला परेको र उहाँहरुको शल्यक्रिया गर्नुपर्ने भको छ ।
फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार घुन्सामा भएको शिविरमा घुन्साका ३४, फलेका १०, ग्याब्लाका २७ र अम्जिलेसाका १० जनाले आँखा परीक्षण गराएका हुन् । मोतियाविन्दुको समस्या देखिएका दुईजना रोगीको आगामी साताको शुक्रबार र शनिबार गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोकमा हुने शिविरमा शल्यक्रिया गरिने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
सोमबार सुरु भएको निःशुल्क आँखा शिविर आगामी साताको शनिबार सम्पन्न हुने छ । फक्ताङ्लुङ गाउँपालिकाका सबै ७ वटै वडाका सर्वसाधारणलाई राहत पुग्नेगरी आँखा शिविर आयोजना गरिएको हो । पहिलो दिन सोमबार घुन्सामा शिविर सञ्चालन गरिएको हो भने दोस्रो दिन बिहीबार ओलाङ्चुङगोला स्वास्थ्य चौकी, तेस्रो शनिबार हान्द्रुङटारमा शिविर हुने छ ।
त्यस्तै चौंथो दिन आगामी साताको आइतबार र सोमबार छिरुवा बजार, पाँचौ दिन लिङ्खिमको सिँवा स्वास्थ्य चौकीमा मंगलबार र बुधबार शिविर सञ्चालन हुने छ । उक्त सबै केन्द्रमा सञ्चालित शिविरमार्फत मोतियाविन्दु पहिचान भएका बिरामीको तापेथोकमा हुने शिविरमा शल्यक्रिया गरिने छ । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको संलग्नतामा शल्यक्रिया सेवा प्रवाह गरिने गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts