प्रेस चौतारी ताप्लेजुङद्धारा चारजना पत्रकार पुरस्कृत,दुईजना जनप्रतिनिधिलाई सम्मान गरियो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २२ । प्रेस चौतारी नेपाल ताप्लेजुङले २५ औं स्थापना दिवसको अवसरमा ४ पत्रकारलाई पुरस्कृत गरेको छ भने प्रेस चौतारीमा लामो योगदान गर्ने २ जना जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
प्रेस चौतारी नेपाल ताप्लेजुङले १० हजार १ सय ५ रुपैयाँ राशीको अग्निप्रसाद–भीमादेवी पत्रकारिता पुरस्कार बिजनेस जर्नलमा कार्यरत पत्रकार पूर्ण कार्कीलाई प्रदान गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका घर भई काठमाडौंमा पत्रकारिता क्षेत्रमा कार्यरत कार्कीले बिजनेस जर्नलका अलवा ताप्लेजुङबाट प्रकाशित हुने पहिलो समाचारमुलक पत्रिका ताप्लेजुङ साप्ताहिकका लागि राजधानी संवाददाताको रुपमा रहेर योगदान दिनु भएको थियो । पर्यटन व्यवसायी ईश्वरी पौडेलले आफ्ना बुवा अग्निप्रसाद र आमा भीमादेवीको सम्मानमा प्रेश चौतारी ताप्लेजुङसंगको सहकार्यमा अग्निप्रसाद–भीमादेवी पत्रकारिता पुरस्कार स्थापना गर्नु भएको छ ।
यस्तै १० हजार १ सय ५ रुपैयाँ राशीको प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार पत्रकार सन्तोष पुर्कुटीले पाउनु भएको छ । राष्ट्रिय समाचार समितिमा कार्यरत उहाँ प्रेस युनियनका जिल्ला अध्यक्ष समेत रहनु भएको छ । प्रेस चौतारी ताप्लेजुङका अध्यक्ष बसन्त पालुङ्वाका अनुसार यो पुरस्कार जिल्ला शाखाले पहिलो पटक स्थापना गरी पुरस्कृत गरेको हो । यस्तै १० हजार १ सय ५ रुपैयाँ राशीको जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार साहारा लङ्वा पुरस्कृत हुनु भएको छ । यहाँबाट सञ्चालित रेडियो काबेली र पाथीभरा प्रेस अनलाइन समेतमा आवद्ध लङ्वालाई पत्रकारितामा अबिछिन्न रुपले योगदान दिएवापत पुरस्कृत गरिएको प्रेस चौतारीले जनाएको छ । कोरोना संक्रमण लगायतका कारणबाट २०७८ सालमा बितरण गर्न नसकिएको यो पुरस्कार यसबर्ष प्रदान गरिएको प्रेस चौतारी नेपाल ताप्लेजुङका सचिव तेञ्जिङ शेर्पाले जानकारी दिनुभयो ।

यस्तै २०७९ सालको जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार रेडियो ताप्लेजुङमा कार्यरत पत्रकार किरण गदाईली बिकलाई प्रदान गरिएको छ । उहाँले पनि समान १० हजार १ सय ५ रुपैयाँ राशीको पुरस्कार पाउनु भएको छ । बैदेशिक रोजगार व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनु भएका बलबहादुर तामाङले आफ्ना माता जयमति र पिता कर्णहादुरको सम्मानमा प्रेस चौतारी ताप्लेजुङसंग सहकार्य गरेर यो पुरस्कार स्थापना गर्नु भएको हो । जयमति र कर्णहादुर कार्यक्रममा स्वयं उपस्थित हुनुु भएको थियो भने अग्निप्रसाद र भीमादेवी उपस्थित हुन सक्नु भएको थिएन । प्रेस चौतारी ताप्लेजुङले पुरस्कृत पत्रकारको नाम छनौट गरी सिफारिस गर्न प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य खगेन्द्र अधिकारीको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
यस्तै प्रेस चौतारी नेपालमा लामो योगदान दिएर अहिले जनप्रतिनिधिमा निर्वाचित दुईजनालाई कदरपत्र प्रदान गरिएको छ । प्रेस चौतारी नेपाल ताप्लेजुङका उपाध्यक्ष मदन गौतमका अनुसार सम्मानित हुनेमा शान्ताकुमारी आङ्बुहाङ र लिलाचक्र गुरुङ रहनु भएको छ । प्रेस चौतारीका तत्कालिन केन्द्रीय सदस्य आङ्बुहाङ गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । प्रेस चौतारी ताप्लेजुङका अभिभावक गुरुङ फुङलिङ नगरपालिका वडा नं २ को वडा सदस्यमा निर्वाचित हुनु भएको छ ।
प्रेस चौतारीले आफ्नो स्थापना दिवसकै अवसरमा अक्षयकोष दाता पौडेल र तामाङ परिवारलाई अभिनन्दन समेत गरेको छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद तथा एमाले सचिव योगेशकुमार भट्टराई,प्रदेश १ सरकारका खानेपानी सिचाँई तथा उर्जामन्त्री तथा एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो,प्रदेश १ सरकारका पूर्व योजना आर्थिक मामिला मन्त्री टंक आङ्बुहाङ,पूर्व सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ,पूर्व प्रदेशसभा सदस्य होमकुमारी साँवा,आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन),प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ,भीमकाली गुल्मका गुल्मपति आवाज श्रेष्ठ,जिल्ला प्रहरी प्रमुख कैलाश राई,सशस्त्र प्रहरी बल नं १ गुल्मका गुल्मपति बिनोद थापा,राष्ट्रि अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी,एमाले ताप्लेजुङका उपाध्यक्ष सन्तोष खतिवडा,एमाले जबस मोर्चा ताप्लेजुङका संयोजक मणिशंकर पोमू लगायत बिभिन्न सञ्चार क्षेत्रका अगुवा तथा पत्रकारका पेशागत संघ÷संगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts