| | |

ताप्लेजुङमा प्रतिनिधिसभामा भट्टराई र बुढाक्षेत्रीबीच प्रतिस्पर्धा हुने

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २२ । ताप्लेजुङको प्रतिनिधिसभा सदस्यमा एमाले सचिव योगेशकुमार भट्टराई र माओवादीका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री (पराग)बीच प्रतिस्पर्धा हुने भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भट्टराई र बुढाक्षेत्रीले संघ अर्थात प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएसँगै उहाँहरुबीच प्रतिस्पर्धा हुने भएको हो ।
प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा नेकपा (एमाले) ले सचिव भट्टराईलाई टिकट दिएको छ । यस्तै सत्ता गठबन्धनको सिट बाँडफाँडमा प्रतिनिधिसभा नेकपा (माओवादी केन्द्र) को भागमा परेपछि जिल्ला इन्चार्जसमेत रहनुभएका बुढाक्षेत्रीले टिकट पाउनुभएको छ । भट्टराई र बुढाक्षेत्रीलाई आ–आफ्नो पार्टीले उम्मेदवारको टिकट दिएसँगै अब उहाँहरुबीच प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा हुने भएको छ ।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि भट्टराईले दोस्रो पटक टिकट पाउनुभएको हो । बुढाक्षेत्री भने गठबन्धनको साझा उम्मेदवारका रुपमा पहिलो पटक चुनावमा प्रत्यासी बन्दै हुनुहुन्छ । त्यस्तै प्रदेशसभा सदस्यमा गठबन्धनतर्फ निर्वाचन क्षेत्र १ (क) नेकपा (एकीकृत समाजवादी) र निर्वाचन क्षेत्र १ (ख) नेपाली काँग्रेसको भागमा परेको छ ।
एकीकृत समाजवादीको भागमा परेको क्षेत्र १ (क) मा उम्मेदवार टुङ्गो लाग्न बाँकी नै रहेको छ भने (ख) मा नेपाली काँग्रेसका खगेनसिंह हाङ्गामले टिकट पाइसक्नुभएको बुझिएको छ । एमालेको प्रदेशसभामा पनि उम्मेदवारको टुङ्गो लागिसकेको एमाले जिल्ला उपसचिव एवम् प्रचार विभाग प्रमुख दिपेन पोमूले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र १ (क) मा पोलिटव्यूरो सदस्य तिलकुमार मेन्याङ्बो र (ख) मा जिल्ला उपसचिव मणिशंकर पोमूले उम्मेदवारको टिकट पाउनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts