| | |

परम्परागत कृषि औजार बनाउने तालिम सम्पन्न

अरुलाई पनि शेयर गरौ !

जीवन कालिकोटे
ताप्लेजुङ, असोज ९ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा परम्परागत कृषि औजार बनाउने तालिम सञ्चालन गरिएको छ । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा तथा फुङ्लिङ नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो ।
आधुनिकतासँगै लोप हुन लागेको परम्परागत कृषि औजारको संरक्षण साथै स्थानीयको सीप अभिवृद्धि गरी स्वरोजगार बनाउनमा सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको बताइएको छ । फुङ्लिङ नगरपालिका–२ टाकुरेमा गत साउन १८ गतेदेखि सञ्चालित ४५ दिने परम्परागत कृषि औजार बनाउने क्षमता अभिवृद्धि (एड्भान्स) तालिम सम्पन भएको हो ।
तालिममा फुङ्लिङ नगरपालिका–२ र ३ का १० जना प्रशिक्षार्थी सहभागी भएको आयोजनकले जनाएको छ । पछिल्लो समय पुराना घरायसी औजार बनाउने तथा प्रयोग गर्ने क्रम हराउँदै गएको र यो पेशा नै लोप हुने अवस्था आएकोले पनि तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका निमित्त उद्योग अधिकृत युवराज घोर्साइँले जानकारी दिनुभयो ।
यता तालिममार्फत प्राप्त सीपलाई ब्यवहारमा उतारेमा स्थानीयको आय आर्जन वृद्धि हुने विश्वास राखिएको घरेलु कार्यालयले जनाएको छ । परम्परागत घरायसी औजारहरु खुकुरी, हसिँया, कोदालो, कुटो, काँटा चुलेसी लगायतका सामग्रीहरु तयार पार्नेसम्बन्धी तालिम प्रदान गरिएको थियो । तालिमको सहजीकरण दिनेश खातीले गर्नुभएको थियो ।
घरेलु कार्यालयका निमित्त उद्योग अधिकृत घोर्साइँ, फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपाने लगायतको उपस्थितिमा तालिमको समापन गरिएको थियो । समापन कार्यक्रममा आयोजकको तर्फबाट सहभागीलाई भाँटी, घन लगायतका सामग्रीसमेत वितरण गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts