| |

छरितो र सहज सेवा प्रवाह गर्न मन्त्री हाङगामको निर्देशन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १७ ।
प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगामले उद्योगसँग सम्बन्धित सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । शुक्रबार गृह जिल्ला ताप्लेजुङस्थित घरेलु तथा साना उद्योग कार्यालयको अनुगमन गर्नुहुँदै हाङगामले उक्त निर्देशन दिनुभएको हो ।
प्रदेश मन्त्री हाङगामले उद्योग अधिकृत युवराज घोर्साइँ लगायत घरेलु कार्यालयका कर्मचारीहरुलाई सेवाग्राही सन्तुष्ट हुनेगरी सहज रुपमा सेवा प्रदान गर्न सुझावसहित निर्देशन दिनुभयो । जिल्लामा घरेलु उद्योग र उत्पादनसँग जोडिएका किसान तथा उद्यमीलाई सहयोग पुग्नेगरी र अन्य उद्यम गर्न इच्छुकलाई प्रोत्साहित गर्नेगरी घरेलु कार्यालयले सेवा प्रवाह गर्नुपर्नेमा हाङगामले जोड दिनुभयो ।
उहाँले ढाका कपडा, अल्लोको कपडा, दुग्धजन्य उत्पादन, भेडाको ऊनबाट बन्ने राडीपाखी, गलैँचा लगायत हाल जिल्लामा रहेका घरेलु उद्योग र उत्पादनहरुको प्रवर्द्धनमा टेवा पुग्नेगरी रचनात्मक भूमिकासहित सेवा गर्न पनि घरेलु कार्यालयलाई सुझाव दिनुभयो । जिल्लामा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न र उद्योगमा सङ्लग्न तथा उद्यम गर्न चाहानेहरुको आम्दानी बढाउनमा सहयोग पुग्नेगरी सेवा प्रदायकले सेवा प्रवाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
ताप्लेजुङ प्रसस्तै सम्भावना रहेको जिल्ला भएकाले घरेलु उद्योग सञ्चालन गर्न र उद्यमी बन्न चाहाने सामान्य नागरिकलाई प्रोत्साहित गर्नेगरी सरकारी तथा सेवा प्रदायक निकायले सेवा प्रवाह गर्नपर्ने उहाँको जोड थियो । उहाँले प्रदेश सरकार र विभागीय मन्त्रीको हैसियतले जिल्लाका किसानलाई प्रत्यक्ष लाभ पुग्नेगरी घरेलु तथा साना उद्योग कार्यालयमार्फत आफूले सक्दो सहयोग गर्ने पनि आश्वासन दिनुभयो ।
यता अनुगमनकै क्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत घोर्साइँले कार्यालयबाट हुँदै आएको सेवा प्रवाह र अन्य क्रियाकलापबारे मन्त्री हाङगामलाई अवगत गराउनुभएको थियो । यस्तै घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका पदाधिकारीको टोलीले पनि उद्योग कार्यालयमा नै हाङगामलाई भेटेर आफ्ना विषयहरु राखेका मन्त्रीका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts