कक्षा ११ र १२ निःशुल्क पढाउँदै आठराइ त्रिबेणी,सातजना बिद्यार्थीले पाए उच्च शिक्षा अध्ययनको छात्रबृत्ति

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २९ । पालिका भित्रकै सामुदायिक बिद्यालयहरुमा अध्ययन गर्ने भए ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकामा कक्षा ११ र १२ निःशुल्क रुपमा अध्ययन गर्न पाइने भएको छ ।

गाउँपालिकाले पालिकाभरीका ७ जना बिद्यार्थीलाई प्राविधिक बिषय अध्ययनका लागि छात्रबृतिको समेत व्यवस्था गरेको छ भने कक्षा ११ र १२ अध्ययन गर्ने बिद्यार्थीको शुल्क आफुले व्यहोर्न थालेको छ । गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार पालिका भित्र कक्षा ११ र १२ पढाई हुने तीनवटा बिद्यालय रहेका छन् । सरस्वती माध्यमिक बिद्यालय हाङ्पाङ,दुर्गा मावि फुलवारी र चाँगे मावि चाँगेमा कक्षा ११ र १२ अध्ययन गर्ने बिद्यार्थीले तिर्नुपर्ने सबै शुल्क गाउँपालिकाले व्यहोर्ने पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।‘हामीले बिद्यार्थीले तिनुुपर्ने शुल्क बापतको रकम सम्वन्धित बिद्यालयलाइ निकासा गरिसकेका छौं’पालिका अध्यक्ष पोमूले भन्नुभयो । उहाँका अनुसार यो शुल्क बापत गाउँपालिकाले सरस्वती मावि हाङपाङ र दुर्गा मावि फुलवारीलाई ६–६ लाख र चाँगे माविलाई ४ लाख रुपैंया भुक्तानी गरेको छ ।

बिद्यार्थी संख्याका आधारमा शुल्क वापतको रकम सम्वन्धित बिद्यालयलाई हस्तान्तरण हुने पालिका अध्यक्ष पोमूले बताउनुभयो । पोमूका अनुसार सरस्वती मावि हाङपाङमा कक्षा ११ मा ५८ र १२ मा ३७ जना बिद्यार्थी अध्ययन गर्छन् । यस्तै दुर्गा मावि फुलवारीमा कक्षा ११ मा ६१ र १२ मा ४८ जना तथा चाँगे माविमा कक्षा ११ मा ४१ र १२ मा ३५ जना बिद्यार्थी रहेका छन् । पालिकाले ति बिद्यार्थीका लागि पाठ्यपुस्तक शुल्क समेत व्यहोर्ने गरेको जनाएको छ । पोमूका अनुसार कक्षा ११ र १२ का बिद्यार्थीको पाठ्यपुस्तक शुल्क बापत सरस्वती मावि हाङपाङलाई क्रमशः१८ हजार १ सय ३० र १४ हजार ८ सय ९९ रुपैंया भुक्तानी गरिएको छ । यस्तै दुर्गा मावि फुलवारीका कक्षा ११ का बिद्यार्थीको पाठ्यपुस्तक बापत १६ हजार ५ सय ६ र कक्षा १२ को पाठ्यपुस्तक बापत १५ हजार ५ सय ४७ रुपैंया भुक्तानी भएको छ । यस्तै चाँगे माविका कक्षा ११ अध्ययन गर्ने बिद्यार्थीको पाठ्यपुस्तक शुल्क वापत १८ हजार १ सय ३० र कक्षा १२ को पाठ्यपुस्तक शुल्क बापत १४ हजार ८ सय ९९ रुपैंया भुक्तानी भएको पालिकाले जनाएको छ । चालू बर्ष भित्रै निघुरादिनस्थित परमसिंह माविमा समेत कक्षा ११ र १२ को पढाइ सुरु गर्ने योजना रहेको र सुरु भए त्यहाँ अध्ययन गर्ने कक्षा ११ र १२ का बिद्यार्थीको अध्ययन शुल्क र पाठ्यपुस्तक बापतको रकम पालिकाले व्यहोर्ने अध्यक्ष पोमूले बताउनुभयो ।

नमूना माध्यमिक बिद्यालयको रुपमा रहेको सरस्वती मावि हाङ्पाङमा प्राविधिक बिषय अध्ययन सुुरु गर्ने बारे सम्भाव्यता अध्ययन भइरहेकोले प्राप्त निश्कर्षका आधारमा यो प्रकृया चालू बर्षभित्रै अघि बढ्ने समेत पोमूले बताउनुभयो । पालिकाले चाँगेस्थित छातेढुङ्गा माविमा अध्ययन गर्नु भएका ग्याल्बु शेर्पा र सपत तामाङ,चाँगे मावि अध्ययन गर्नु भएका राजन मगर,सरस्वती मावि हाङपाङ अध्ययन गर्नु भएका सूर्यमणि दाहाल,दुर्गा मावि फुलवारी अध्ययन गर्नु भएकी गुञ्जन प्रधान,गुप्तेश्वर मावि फुलवारी अध्ययन गर्नु भएका निमा तामाङ र सरस्वती मावि रमिते अध्ययन गर्नु भएका सुमिना लिम्बूलाई उच्च शिक्षातर्फ प्राविधिक बिषय अध्ययन गर्न बार्षिक जनही १–१ लाख रुपैंयाका दरले छात्रबृत्ति दिदैं आएको जनाएको छ । उहाँहरुलाई कोर्ष पूरा नभइञ्जेल सम्मका लागि बार्षिक रुपमा जनही १–१ लाख रुपैंयाका दरले छात्रबृत्ति दिईरहने समेत पालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts