जातिय झाँकी सहित बिबिध मनोरञ्जनात्मक कार्यक्रमका साथ ताप्लेजुङ पूर्ण खोपयुक्त जिल्ला घोषित

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २५ । ताप्लेजुङ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । प्रदेशसभाका सांसद तथा प्रदेश १ सरकारका पूर्व सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले ताप्लेजुङलाइ पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नु भएको हो ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले एक नगरपालिका सहित नौ स्थानीय तह रहेको ताप्लेजुङका सबै स्थानीय तह र ६१ वटा पूर्णखोपयुक्त घोषणा भइसकेकोले ताप्लेजुङलाइ पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिदिन प्रस्ताव गर्नु भएको थियो । पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसंगै सहभागीले भावी सन्ततीलाइ समेत पूर्ण खोप सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन् । सहभागीले प्रतिबद्धता पत्रमा सामूहिक हस्ताक्षर गरी प्रतिबद्धता कार्यान्वयन गर्ने बचन समेत दिएको स्वास्थ्य कार्यालय ताप्लेजुङा निमित्त प्रमुख राजकुमार पोेखरेलले जानकारी दिनुभयो । क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदय श्रेष्ठका अनुसार प्रदेश १ का १४ जिल्लामध्ये ताप्लेजुङ १३ औं जिल्लाको रुपमा पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । अब सुनसरी मात्र पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

सुनसरी पनि चाँडै पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारीमा रहेको उहाँले बताउनुभयो । प्रदेश १ को पूर्णखोप समन्वय समितिले ताप्लेजुङलाइ पूर्ण खोपयुक्त जिल्ला घोषणाको प्रमाणपत्र समेत हस्तान्तरण गरेको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्चेन सुपरभाइजर दिनेश रायका अनुसार १५ महिना सम्मका २ हजार २ सय ९७ जना बालबच्चा पूर्ण खोपको प्रकृयामा छन् । खोपको चरण पूरा नभइञ्जेल नियमित रुपमा खोप पाइरहने बाहेक १६ देखि २३ महिना सम्मका १ हजार ५ सय ५१ जनाले पूर्ण खोप पाइसकेको रायले जानकारी दिनुभयो । एउटा शिशुले जन्मेदेखि १५ महिनासम्म विसीजी, डिपीटी, पोलियो, पिसिभी, एफआईपीभी, दादुरा, रोटा र टाइफाइड विरुद्धको खोप लगाउने गरेका छन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अथिति तथा प्रदेश सांसद साम्सोहाङले पूर्ण खोप पाउनु बालबच्चाको अधिकार र पूर्ण खोप दिलाउनु राज्यको दायित्व भएको बताउनुभयो । त्यो दायित्व पूरा गरेर ताप्लेजुङले मानव विकास सूचकाङ्कको एक आधार पूरा गरेको उहाँले बताउनुभयो । कार्यक्रममा पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेम,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङबीर(डम्बर)हाङगाम,आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन),मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,सिरिजंगा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल,ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बू,गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष खड्गबिक्रम सुबेदी,जिल्ला प्याब्सनका अध्यक्ष गणेश सिग्देल लगायतले पूर्ण खोपयुक्त जिल्ला घोषणा र आगामी योजना तथा दायित्वका बिषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियानमा सकृयतापूर्वक कार्य सम्पादन गर्ने महिला स्वास्थ्य स्वयंसेविका,खोप कार्यकर्ता,स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाइ प्रशंसापत्र,दोसल्ला तथा नगद पुरस्कार समेत बितरण गरिएको थियोे । औपचारिक कार्यक्रम अघि तोक्मेडाँडाबाट ¥याली सुरुभई नगर परिक्रमा पछि सामुदायिक भवन सिटीहल प्रवेश भएको थियो । कार्यक्रममा नौमति बाजा,च्याब्रुङ र बिजुवा नाच प्रर्दशन गरिएको थियो । सामुदायिकतर्फ भानुजन मावि र युवाबर्ष मावि कैंजले तथा संस्थागततर्फ लिटलबुद्ध इङलिस बोर्डिङ स्कुल,अक्सफोर्ड मोडल इङ्लिस बोर्डिङ स्कुल र तमोर इङलिस बोर्डिङ स्कुलका बिद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts