| |

ताप्लेजुङको जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित लामाद्वारा पदभार ग्रहण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असार १ ।
जिल्ला समन्वय समिति (जिसस) ताप्लेजुङका नवनिर्वाचित प्रमुख छिरिङ लामाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीस प्रकाश राउतमार्फत पद तथा गोपनीयताको सपथ लिएपछि लामाले पदभार ग्रहण गर्नुभएको हो ।
सदरमुकाम फुङ्लिङको तोक्मेडाँडास्थित जिल्ला समन्वय समितिको कार्यालयमा आफ्नो कार्यकक्षमा पदभार ग्रहण गर्नुहुँदै लामाले पदीय जिम्मेवारीअनुसार आफूले भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यकाल भर जिल्लाको समग्र विकास र सुशासनका निम्ति सरोकारवाला सबैसँग समन्वय गरेर पदीय दायित्व पूरा गर्नमा आफू लागिपर्ने उहाँले बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रहनुभएका लामा जिल्ला समन्वय समिति चयनका लागि मङ्गलबार भएको निर्वाचनबाट प्रमुख पदमा निर्वाचित हुनुभएको हो । सत्ता गठबन्धनको तर्फबाट प्रमुख पदको उम्मेदवार बन्नुभएका लामाले नेकपा एमालेका तर्फबाट प्रत्यासी बन्नुभएका घनेन्द्र मादेनलाई पराजित गर्नुभएको हो ।
यस्तै जिल्ला समन्वय समितिका नवनिर्वाचित उपप्रमुख कृष्णप्रसाद लिङ्खिम र सबै सदस्यले बुधबार नै पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उपप्रमुख लिङ्खिम, सदस्यहरु विष्णुप्रसाद तिवारी, भूपाल मादेन, रवीन्द्रकुमार वनेम, सन्तोष राई, चन्द्रकला दाहाल, सविता लिङ्देन र हेमन्ता पौडेललाई प्रमुख लामाले सपथग्रहण गराउनुभएको थियो । नौ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुखसहित सबै सदस्य गठनबन्धन प्यानलका निर्वाचित हुनुभएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts