बिपद् जोखिम पूर्व तयारी र प्रतिकार्यका बारेमा ताप्लेजुङका सरोकारवालाको ‘गोलमेच’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २७ । जिल्ला बिपद् व्यवस्थापन समितिले शुक्रवार ताप्लेजुङका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र बिपद् घटना सम्पर्क व्यक्ति(फोकल पर्सन) सहितका सरोकारवालासंग मौसमी बिपद् पूर्व तयारी र प्रतिकार्य बारे अभिमुखीकरण गरेको छ ।

मौसमी बिपद्का सम्भावित घटना,पूर्व तयारी र घटना भइहाले गर्न सकिने राहत र उद्धारका कार्य सहितका बिषयमा केन्द्रित रहेर छलफल गरिएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर भट्टराईले जानकारी दिनुभयो । भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठले मौसमी बिपद् र ताप्लेजुङमा हुने अन्य सम्भावित बिपद्का घटना रोकथाम तथा न्यूनीकरणका उपाय,पूर्व तयारी र प्रतिकार्य बारे सरोकारवाला निकायबीच हुने सहकार्य र समन्वयका बारेमा छलफल केन्द्रित भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख(डिएसपी) कैलाश राईले बिपद् रोकथाम तथा न्यूनीकरण,पूर्व तयारी र बिपद्का घटना भइहाले राहत र उद्धारका लागि अपनाउन सकिने रणनीति र बिपद् व्यवस्थापनमा स्थानीय तहमा भइरहेको प्रयास र आगामी समन्वयका लागि छलफल लाभदायी भएको बताउनुभयो ।

छलफलको अधिकाँस समय सम्भावित मौसमी बिपद्(बाढी,पहिरो)का बिषयमा केन्द्रित भएको जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ । स्थानीय तहले बिपद् पूर्व तयारी र प्रतिकार्य योजना बनाइ त्यसलाइ सरोकारवालासंगको समन्वयमा कार्यान्वयनमा लैजानुपर्ने बारेमा पनि छलफल भएको थियो । ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रमा रहेका हिमतालबाट देखिने सम्भावित जोखिम,बिपद् प्रतिकार्यका क्रममा प्रयोग हुने सामग्री व्यवस्थापन र बिपद् जोखिम रोकथाम,न्यूनीकरण,पूर्व तयारी र प्रतिकार्यमा खटिने सरोकारवाला बीचको समन्वय र सहकार्यका बिषयमा समेत छलफल भएको नेपाल रेडक्रस सोसाइटीका मन्त्री विकास गौतमले जानकारी दिनुभयो । यसैबीच, सम्भावित मौसमी बिपद् बाढी पहिरोको जोखिम र बिपद् आइपरेपछि गरिने राहत र उद्धार प्रकृयाको चरणबद्ध जानकारी दिने उद्धेश्यले शनिवार भीमकाली गुल्मको खेल मैदानमा प्रदर्शन(डेमोष्ट्रेसन) गरिने भएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिको संयोजन र भीमकाली गुल्मको परिकल्पनामा डेमोष्ट्रेसन हुन लागेको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts