लक्ष्मी बैंकको फुङ्लिङ शाखाद्धारा बीरेन्द्र माविलाइ ३ लाख बढीको सहयोग,काठमाण्डौ विश्व बिद्यालयका बिद्यार्थीद्धारा प्रविधिमैत्री सीप हस्तान्तरण

ताप्लेजुङ,चैत १७ । लक्ष्मी बैंकको ताप्लेजुङस्थित फुङ्लिङ शाखाले बीरेन्द्र माध्यमिक बिद्यालय देवलिङ्गेमा ३ लाख रुपैंया बढी मूल्य बराबरको सहयोग गरेको छ ।
सोहि माविमा काठमाण्डौ विश्व बिद्यालयबाट आएका बिद्यार्थीहरुले ५ दिने शैक्षिक अभ्यास समेत गराएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल न्यौपानेले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत लक्ष्मी बैंकले सो माविमा कम्प्युटर र प्रोजेक्टरसहितका सामग्री तथा इन्टरनेट व्यवस्थापन गरिदिएको छ । अहिले बिद्यालयमा इन्टरनेटको प्रयोग गरी शिक्षण सिकाइका नयाँ र प्रविधियुक्त ज्ञान हासिल गर्न सहज बनेको समेत बिव्यस अध्यक्ष न्यौपानेले बताउनुभयो । बिद्यालयका प्रधानाध्यापक कुलराज पौडेलले प्रविधिमैत्री सिकाइका क्रममा सहयोग गर्ने लक्ष्मी बैंक र प्रविधिको उपयोग गरी सिकाइ हासिल गर्ने क्रममा प्राविधिक ज्ञान दिने काठमाण्डौ विश्व बिद्यालयबाट आएका पुष्कर अधिकारी नेतृत्वको टोलीप्रति आभार व्यक्त गर्नु भएको छ ।
काठमाण्डौ विश्व बिद्यालयबाट आएका बिद्यार्थीहरुको टोलीले बिद्युतीय तथा इन्टरनेट सहितको उपयोग गरेर सिकाइ केन्द्रित गर्ने उपाय र नयाँ प्रविधिबारे जानकारी गराएको थियो । सो माविमा सहयोग गर्ने लक्ष्मी बैंकले सामाजिक बित्तीय साक्षरता कक्षा समेत सञ्चालन गरेको सो बैंकका प्रवन्धक नवनिधी ढकालले जानकारी दिनुभयो ।