| |

कञ्चनजंघाको पानीलाइ अन्तराष्ट्रिय केन्द्रमा परीक्षण गर्ने दायित्व अब नेपाल सरकारको ः मन्त्री चौधरी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १० । नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले कञ्चनजंघाको पानीलाइ ‘मिनिरल वाटर’को रुपमा बजारमा लैजाने प्रयोजनका लागि त्यहाँको पानीलाइ अन्तराष्ट्रिय केन्द्रमा लगेर परीक्षण गर्ने दायित्व नेपाल सरकारले लिएको घोषणा गर्नु भएको छ । उहाँले आफुसंगै रहेका खानेपानी विभागका महानिर्देशक सूर्यराज कडेंललाइ कञ्चनजंघाको पानीलाइ अन्तराष्ट्रिय केन्द्रमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन पनि दिनु भएको छ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री चौधरीले कञ्चनजंघाको पानीलाइ अन्तराष्ट्रिय बजारमा लैजानसके यो कार्य देशमै एक गौरवको परियोजना बन्ने बताउनुभयो ।‘त्यहाँको पानीलाइ अन्तराष्ट्रिय बजारमा लैजान सके सिरिजङ्गा र ताप्लेजुङलाइ मात्र यसले आर्थिक टेवा प्रदान गर्दैन’उहाँले भन्नुभयो‘यो देशकै गौरवको योजना र आर्थिक उर्पाजनको प्रमुख केन्द्र बन्ने छ’ । तर,त्यहाँको पानी अन्तराष्ट्रिय बजारमा लैजानुपूर्व परीक्षणको आवश्यकता रहेको उहाँले औंल्याउनुभयो । भन्नुभयो‘देश बाहिरका परीक्षण केन्द्रमा लगेर परीक्षण पछि थप प्रकृया आरम्भ गर्ने दायित्व अब नेपाल सरकारको हुने छ’ । मन्त्री चौधरीले यस्तो बताएपछि सिरिजङ्गा गाउँपालिकाले नमूनाको रुपमा कञ्चनजंघाको पानी परीक्षणका लागि खानेपानी विभागका महानिर्देशक कडेंललाइ जिम्मा लगाएको छ ।

सिरिजङ्घा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले वडा नं ८ याम्फुदिनका वडाध्यक्ष टसी लामालाइ कञ्चनजंघाको पानी नमूनाको रुपमा ल्याउन जिम्मेवारी दिनु भएको थियो । सोहि अनुरुप प्रमुख प्रशासकीय भवनको उद्घाटन कार्यक्रमको अन्त्यतिर मात्र पालिकाको केन्द्र तेल्लोक आइपुग्नु भएका वडाध्यक्ष लामाले आफुले ल्याएको कञ्चनजंघाको पानी अन्तराष्ट्रिय परीक्षण केन्द्रमा पु¥याउने व्यवस्थाका लागि खानेपानी विभागका महानिर्देशक कडेंललाइ दिनुभयो । कडेंलले पानीको परीक्षण पछाडि यथाशीघ्र त्यसको प्रतिबेदन पालिका समक्ष पठाउने जानकारी दिनुभयो । सिरिजङ्गा गाउँपालिकाले‘कञ्चनजंघाको पानी,हाम्रो आम्दानी’भन्ने नारा सहित कञ्चजंघाको पानीलाइ अन्तराष्ट्रिय बजारमा पु¥याउने प्रयास स्वरुप सम्भाव्यता अध्ययन गरिरहेको छ । यस सम्वन्धी विज्ञहरुको अहिले सम्मको प्रारम्भिक संकेतले कञ्चनजंघाको पानी बजारमा लैजान सकिने बलियो संकेत देखिएको भन्दै पालिकाले यसलाइ एक गौरवको आयोजनाको रुपमा अघि बढाउन नेपाल सरकारको सहयोगको याचना गर्दै आएको छ ।

कञ्चनजंघा हिमालबाट उत्पति हुने पानीको संरक्षण, संवद्र्धन र उपयोग गर्न गाउँपालिकाले आफ्नै स्वामित्वमा मिनिरल वाटर उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ । माइक्रोबायोलोजिस्ट बिनोद लेखक नेतृत्वको अध्ययन टोलीमा इन्भाइरोमेन्टल साइन्टिस प्रकाशचन्द्र अर्याल र जियोलोजिस्ट भरतप्रसाद भण्डारी गरी ३ जनाले सम्भाव्यता अध्ययन गर्नु भएको छ । अन्तराष्ट्रिय परीक्षण केन्द्रबाट त्यहाँको पानी उपयोगिताबारे ‘ग्रिन सिग्नल’आए नेपाल सरकारले मिनिरल वाटर उद्योग स्थापनामा सघाउने बचन दिएको छ । पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र संबिधानसभा सदस्य भूपेन्द्र थेबेले कञ्चनजंघा हिमालबाट उत्पति हुने पानीको संरक्षण र उपयोगका लागि सिरिजङ्गा गाउँपालिकाले चालेको अभियानमा साथ दिन मन्त्री चौधरीमार्फत नेपाल सरकारको ध्यानाकृष्ट गर्नु भएको थियो ।
पालिका अध्यक्षको तारिफ गरेर फर्किनुभयो मन्त्री चौधरी
प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्न सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोक आउनु भएका मन्त्री चौधरीले पालिका अध्यक्ष टीकाराम गुरुङको नेतृत्वमा रहेको जनप्रतिनिधिहरुको तारिफ गर्नु भएको छ । उहाँले कामका हिसावले सिरिजङ्गा देशकै अब्बल रहेको भन्दै यस कार्यको अगुवाइ गर्ने पालिका अध्यक्ष गुरुङलाइ‘देशकै नमूना जनप्रतिनिधि’को रुपमा ब्याख्या गर्नुभयो ।‘म मेरो साथी, मेरो भाई टीकारामलाइ सलाम गर्छु’तपाँइको नेतृत्वमा रहेको सिरिजङ्गाले मारेको फड्को उदाहरणीय छ‘मन्त्री चौधरीले भन्नुभयो । उहाँले राम्रा काम गरेर देश र जनताको सेवामा लाग्ने हो भने पुण्यप्राप्तिका लागि अरु केहि गरिरहन नपर्ने बताउनुभयो ।

सिरिजङ्घाले प्रत्येकबर्ष पालिका भित्रका एकजनालाइ एमबीबीएस तहको अध्ययन गराउन छात्रबृति दिने गरेको छ । यस्तै प्रत्येक बर्षको एसईई परीक्षामा उत्कृष्ट हुने प्रत्येक वडाका १–१ जनालाइ उच्च शिक्षा अन्र्तगत प्राविधिक शिक्षाका लागि आवासीय सुबिधा समेतको अध्ययन सहयोग गर्दै आएको छ । पालिका भित्रका सामुदायिक बिद्यालयमा विज्ञान संकाय समेत अध्ययन गर्ने कक्षा ११ र १२ र सबै बिद्यार्थीलाइ अध्ययनमा निःशुल्क गरिएको छ । पालिकाले कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाइ बिद्यालय पोशाक र झोला निःशुल्क रुपमा दिने गरको छ भने एसईई परीक्षामा उत्कृष्ट हुने छात्रछात्रालाइ ब्राण्डेड ल्यापटप र कक्षा ८ को परीक्षामा उत्कृष्ट हुनेलाइ पुरस्कार तथा सम्मान गर्ने गरेको छ ।

आर्थिक २०७७।०७८ मा बेरुजु कम हुने नेपालकै दोस्रो पालिका बनेको सिरिङ्गा अहिले शुन्य बेरुजुमा पुगेको समेत पालिकाले जनाएको छ । टोल विकास संस्था गठन गरी सिरिजङ्गाले १० लाख भन्दा कम रकमका योजना टोल विकास संस्थामार्फत कार्यान्वयन गर्दै आएको छ भने उनीहरुको सृजनशिलता र सामाजिक अग्रसरता सहितका आधारमा बार्षिक रुपमा पुरस्कृत समेत गर्दै आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts