|

सम्पादक अधिकारी सहित उत्कृष्ट र रचनात्मक कार्यगर्ने देखि जग्गादाता समेतलाई सिरिजंगाको सम्मान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत १० । खोजमुलक तथा समिक्षात्मक पत्रकारितामार्फत स्थानीय सरकारको जवाफदेहिता,जिम्मेवारी र कार्यशैलीबारे आम नागरिकलाइ सुसूचित गराउन भूमिका खेलेको भन्दै उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीलाइ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले सम्मान गरेको छ ।

सिरिजङ्गा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका अवसरमा अधिकारीलाइ नगद १५ हजार सहित पुरस्कृत गरिएको पालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो । नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले अधिकारीलाइ नगद र प्रमाणपत्र बितरण गर्नुभयो । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष समेत रहनु भएका अधिकारी विगत दुईदशक बढी समय देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

पत्रकारितामार्फत स्थानीय सरकारका रचनात्मक कार्यमा अग्रसर गराउन भूमिका खेलेका कारण कार्यपालिकाको निर्णय बमोजिम अधिकारीलाइ सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले बताउनुभयो । यस्तै ‘द्धार एक सेवा अनेक’अवधारणामा प्रशासकीय भवनको डिजाइन गरी निर्माण सम्पन्नमा उल्लेख्य भूमिका निर्वाह गरेवापत पूर्व प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे र ईञ्जिनियर संकल्प खनाललाई कदरपत्रद्वारा सम्मान गरिएको छ ।

यस्तै गाउँपालिकाको स्थापनाकालबाट करिव ३ वर्षको समयसम्म कार्यरत प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदीप राईसमेत सम्मानित हुनु भएको छ । १० शैयाको आधारभूत अस्पताल भवन निर्माणका लागि १३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने आमाछोरा क्रमशःरुद्रकला भट्टराई र दामोदर भट्टराई तथा कोल्ड रुम, कुटानी पिसानी मिल निर्माणका लागि निःशुल्क उपलब्ध गराउने जग्गादाताहरु शान्ता बस्नेत विष्ट,बलराम न्यौपाने र मविन्द्र परा लिम्बूलाई समेत पालिकाले कदरपत्रद्धारा सम्मान गरेको छ । त्यसैगरी ४ नं वडा कार्यालयको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने हुने जग्गादाताद्वय प्रेमकुमार भट्टराई र धनबहादुर पौडेललाई कदरपत्र प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष ज्ञानमाया चौहानले जानकारी दिनुभयो।

उत्कृष्ट समाजसेवीको रुपमा सुवेदार भिमबहादुर थेबे तथा उदयीमान प्रतिभाका रुपमा सुमन सिलिम्बोलाई (नगद ५० हजार सहित) समेत सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । २०७८ सालको उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका मेडिकल अधिकृत डाक्टर भुवन सुवेदी,उत्कृष्ट कर्मचारीको रुपमा सृजना राई,उत्कृष्ट शिक्षकको रुपमा सम्झना भट्टराई कार्कीलाई जनही मासिक एक महिना बराबरको तलब रकमले सम्मान गरिएको छ । गाउँपालिका क्षेत्रभित्रको सर्वोत्कृष्ट कर्मचारीको रुपमा पूर्व प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेलाइ सम्मान गरिएको थियो । यस्तै बेरुजु फर्छौटमा उत्कृष्ट योगदान पु¥याउने पालिकाका शिक्षा अधिकृत बुद्धिप्रसाद खतिवडा,तत्कालिन लेखापाल भूपेन्द्र बुढाक्षेत्री, इञ्जिनियर नविन यादव र आन्तरिक लेखा परीक्षक सहायक सुरेश नियाहाङ समेत सम्मानित हुनु भएको छ ।

शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे बापत इलाका प्रहरी कार्यालय तेल्लोकलाई समेत प्रशंसा पत्रले सम्मान गरिएको पालिकाले जनाएको छ । यस्तै निर्धारित समय अघिनै भवन निर्माण पूरा गरी पालिकालाइ भवन जिम्मा लगाउने मार्गदेवी÷एस.ए.एस.÷थेबे जेभीका प्रोपाइटर कालीबहादुर थेबेले नियमत १० लाख रुपैंया प्रोत्साहन प्रोत्साहन रकम पाउनु भएको छ । २०७८ साल पुष २६ गते मार्गदेवी÷एस.ए.एस.÷थेबे जेभीले गाउँपालिकालाई भवन हस्तान्तरण गरेको थियो । त्यो निर्माण व्यवसायीले पाएको अवधि भन्दा भन्दा ४३ दिन अघि हो ।

भ्याट र पिएस सहित ५ करोड ९४ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न भएको उक्त भवन निर्माणमा नेपाल सरकारको २ करोड ८५ लाख र गाउँपालिकाले आफ्नो स्रोतबाट रु ३ करोड ९ लाख रकम खर्च गरेको जनाएको छ । कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ,संबिधानसभा सदस्य भूपेन्द्र थेबे,सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts