नागरिकको उपचारका लागि सहायता रकम उपलब्ध गराउँदै सिरिजंगा,मुटु देखि आँखाका रोगीले पाए सहयोग
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २८ । ताप्लेजुङको सिरिजंगा गाउँ पालिकाले पुस २१ र २२ गते सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा पहिचान भएका जटिल रोगीहरुको थप उपचारका लागि जनही अधिकतम् ५० हजार रुपैंया सम्म सहयोग उपलब्ध गराउने भएको छ ।
गाउँ कार्यपालिकाको बैठकले ३ जना मुटु रोगीलाइ जनही ५० हजार र १ जना हर्नियाका बिरामीलाइ थप उपचार खर्च बापत ३० हजार रुपैंया उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा गाउँपालिकाले पुस २१ र २२ गते पालिकाको केन्द्र तेल्लोकमा ११ बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । सो शिविरमा त्यहिँ उपचार तथा परीक्षण पछि थप उपचारको आवश्यकता परेका सिरिजंगा वडा नं ६ का ४८ बर्षिय,सरिजंगा गाउँपालिका वडा नं ५ का ५४ तथा ३५ बर्षिय मुटु रोगीलाइ जनही ५० हजार र वडा नं ६ का ५ बर्षिय हर्नियाका बिरामीको थप उपचार तथा शल्यकृयाका लागि ३० हजार रकम बितरण गरेको गाउँपालिकाले जनाएको छ ।
मुटु सहितका रोगको उपचारमा पालिकाका नागरिकलाइ सहयोग उपलब्ध गराउन पालिकाले नागरिक सहयाता उपचार कोष स्थापना गरेको छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार शिविरमा आएका १ सय ६३ जना आँखाका बिरामीलाइ चश्मा बापतको शुल्क अनुसार जनही ५ सय रुपैंयाको दरले ८१ हजार ५ सय रुपैंया समेत उपलब्ध गराइएको छ ।