एकदिन ढिला गरी सुरुभयो एमाले ताप्लेजुङको निर्वाचन कार्यक्रम,पदाधिकारीमा थेबे पक्षका उम्मेदवारको टुङ्गो

ताप्लेजुङ,पुस २५ । शनिवारै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिएपनि प्रतिनिधिको नाम व्यवस्थापनमा भएको कठिनाइका कारण नेकपा एमाले ताप्लेजुङको ११ जिल्ला अधिबशेन अन्र्तगत केहिबेर अघि मात्र मतदाता नामावली सार्वजनिक भएको छ । सामुदायिक भवन सिटीहलमा जारी अधिबशेन अन्र्तगत ६ सय ५७ जना मतदाताको नाम प्रकाशित भएको हो । यो संगै निर्वाचन कार्यक्रम सुरु भएको छ । एमालेले शनिवारै निर्वाचन कार्यक्रम गर्ने तयारी गरेको थियो । ९ स्थानीय तह र ६१ वटा वडा रहेको ताप्लेजुङमा एमालेले जिल्ला कमिटीमा कम्तिमा प्रत्येक वडाबाट १ जना सदस्य अटाउने गरी तयारी गरेको छ । यसोगर्दा कम्तिमा ३३ प्रतिशत महिला सहभागितालाइ समेत वडाबाटै समेट्नुपर्ने हुन्छ । ५ पदाधिकारी सहित बढीमा ९० सदस्यीय जिल्ला कमिटी गठन हुने एमाले बिधानको व्यवस्था रहेको छ ।
पदाधिकारीमा थेबेतर्फको प्यानल टुङ्गियो
अहिले सम्म जिल्ला कमिटी संयोजक रहनु भएका बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेबेले आ–आफ्नै समूह बनाएर निर्वाचनमा जाने तयारी गर्नु भएको छ । थेबे समूहले भने पदाधिकारीमा उम्मेदवारी दिनेहरुको टुङ्गो लगाएको छ । यो समूहबाट अध्यक्षमा थेबे,उपाध्यक्षमा सन्तोष खतिवडा,सचिवमा मंगलसिंह केदेम र उपसचिवमा दीपेन्द्र पोमू(दीपेन) र लिलाचक्र गुरुङ उम्मेदवार बन्ने सहमति बनेको पोमूले जानकारी दिनुभयो ।