| | |

ताप्लेजुङमा मकै र अलैँची जोनको नयाँ समिति गठन

अरुलाई पनि शेयर गरौ !

अनिता पन्दाक
ताप्लेजुङ, पुस १२ ।
ताप्लेजुङमा मकै र अलैँची जोनको छुट्टाछुट्टै नयाँ सञ्चालन समिति गठन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएको मकै तथा अलैँची जोन सञ्चालन समन्वय समिति गठन गरिएको हो ।
चालू आर्थिक वर्षदेखि लागू भएको मकै जोनमा सन्तोष भट्टराई संयोजक रहेको नौ सदस्य सञ्चालन समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा बालकुमारी कार्की भट्टराई, यज्ञकुमारी पौडेल, कुमारी न्यौपाने, जीवन सिग्देल, दीपक थापा, रञ्जित माबो लिम्बू र कमलकुमार राई रहनुभएको छ ।
यस्तै अलैँची जोनमा जिल्लाका किसान तथा व्यवसायी बालमणि बराल संयोजक रहेको नौ सदस्यीय अलैँची जोन समन्वय समिति गठन भएको हो । समन्वय समिति सदस्यहरुमा चन्द्र तामाङ, कैलास माबो, रविन लिम्बू, सञ्चमाया तामाङ, लीलादेवी दाहाल, तुलसी दाहाल र चन्दा खतिवडा रहनुभएको छ । अलैँची जोनको समिति भने पुनर्गठन गरिएको हो ।
जिल्लाको नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकासहित सिदिङ्वा गाउँपालिका, मिक्वाखोला, पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिकासमेत पाँच स्थानीय तहका २० वटा वडामा मकै जोन कार्यक्रम कार्यान्वयन गरिने छ । पहिलो वर्ष उक्त वडाका ४७५ हेक्टर क्षेत्रफलमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालयले जनाएको छ ।
यस्तै अलैँची जोन कार्यक्रम भने आव २०७५÷७६ देखि नै लागू भएको हो । फुङ्लिङ नगरपालिकासहित मैवाखोला गाउँपालिका, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिबेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकाका ३९ वडामा लागू गरिएको छ । अलैँची जोनका लागि क्षेत्र विस्तार गरेर हालसम्म एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।
हाल जोन कार्यक्रम लागू गरिएको क्षेत्रमा सात सय ३०.५ मेट्रिकटन अलैँची उत्पादन हुने गरेको जोन कार्यालयका प्रमुख निमित्त वरिष्ठ कृषि अधिकृत काशीराम पाण्डेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts