| |

अरु खोप जस्तै कोरोना बिरुद्धको खोप पनि नियमित लगाउने वातावरणका लागि फुनपालाइ खोप समन्वय समितिको आग्रह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ११ । जिल्ला खोप अनुगमन तथा समन्वय समिति ताप्लेजुङले अरु खोप जस्तै अब प्रत्येक सातामा एकदिन नियमित रुपमा कोरोना बिरुद्धको खोप सञ्चालन गर्ने वातावरणका लागि फुङ्लिङ नगरपालिकालाइ अनुरोध गरेको छ । जिल्ला खोप अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार समन्वय समितिको बैठकले निश्चित समय सम्मका लागि कोरोना बिरुद्धको खोप पनि अरु खोप जस्तै नियमित र साप्ताहिक रुपमा सञ्चाल गर्न नगर पालिकाको कार्यालयलाइ अनुरोध गरेको हो । ताप्लेजुङमा अहिले सम्म कोरोना बिरुद्धको खोप तालिका बनाएर अभियानको रुपमा मात्र सञ्चालन हुँदै आएको छ ।‘कम्तिमा सातामा एकदिन सदरमुकाममा कोरोना बिरुद्धको खोप लगाउने वातावरण बन्दा अझ राम्रो हुन्छ भनेर बैठकले नगरपालिकाको कार्यालयलाइ अनुरोध गर्ने निर्णय गरेको हो’पाण्डेले भन्नुभयो । जिल्लाभरका खोपकेन्द्रमार्फत अभियानको रुपमा कोरोना बिरुद्धको खोप सञ्चालनको क्रममा अपेक्षाकृत नागरिकले खोप नलगाएको पाइएपछि जिल्ला खोप अनुगमन तथा समन्वय समितिले जिल्ला सदरमुकाममा कोरोना बिरुद्ध नियमित खोप अभियान सञ्चालन गर्दा राम्रो हुने ठहर गरेको छ । बैठकले पालिकातहकमा कोभिडशिल्ड÷एक्सट्राजेनेका खोपको दोस्रो मात्रा तथा भेरोसिलको पहिलो र दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्नेगरी मिति समेत निर्धारण गरेको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार फुङ्लिङ नगरपालिका,पाथीभरा याङ्वरक गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकामा मंसिर १२,१३ र १४ गते खोप अभियान सञ्चालन हुने छ । यस्तै मिक्वाखोला गाउँपालिका,सिरिजंगा गाउँपालिका,सिदिङ्वा गाउँपालिका,मैवाखोला गाउँपालिका,फक्ताङ्लुङ र मेरिङ्देन गाउँपालिकामा कात्तिक १४,१५ र १६ गते खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप समन्वय समितिको बैठकले ताप्लेजुङमा १८ बर्ष उमेर पूरा भएका सबै नागरिकका लागि पर्याप्त मात्रामा खोप भएपनि सो उमेर समूहका सबै नागरिकले कोरोना बिरुद्धको खोप लगाउन गरिरहेको आनाकानी प्रति दुःख व्यक्त गरेको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार पोखरेलले कोरोनाबाट बच्ने एकमात्र उपाय भनेकै यस बिरुद्धको खोप भएकोले मापदण्ड पूरा भएका सबै नागरिकलाइ खोप लगाइदिन आग्रह गर्नु भएको छ । यस्तै आ–आफ्नो क्षेत्र,पालिका,वडा,टोल र समुदायका कोरोना बिरुद्धको खोप लगाउन छुटेका नागरिकलाइ सम्वन्धित क्षेत्रको खोप केन्द्रमार्फत अनिवार्य खोप लगाउने कार्यमा सहजीकरण गरिदिन खोप समन्वय समितिको बैठकले जिल्लाका जनप्रतिनिधि,राजनीतिक दल,शिक्षक,बुद्धिजीवि,समाजसेवी, लब्धप्रतिष्ठित व्यत्तित्व र आम सञ्चार संस्था तथा सञ्चारकर्मीहरुलाइ अनुरोध समेत गरेको छ ।

Similar Posts