फुङ्लिङ र यासोकमा सञ्चालित आँखा शिविरमा झण्डै ७ सय लिए सेवा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ५ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ र पाँचथरको यासोकमा सञ्चालन भएको शल्यकृया सहितको निःशुल्क आँखा शिविरबाट करिव ७ सय जनाले स्वास्थ्य लाभ गरेका छन् । ८८ जनाको मोतियाबिन्दुको र ६ जनाको साधारण शल्यकृया गरिएको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले जनाएको छ । ६ सय १२ जनाले आँखाको परीक्षण तथा उपचार गराएका थिए भने निःशुल्क औषधि र न्यूनतम् शुल्कमा चश्मा समेत बितरण गरिएको नेपाल नेत्र ज्योतिसंघद्धारा ताप्लेजुङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । पाँचथरको कुम्मायक गाउँपालिका,नेत्र ज्योति संघ ताप्लेजुङ र सेवा फाउण्डेसन काठमाण्डौको आयोजनामा यासोक बजारमा सञ्चालन भएको ३ दिने निःशुल्क आँखा शिविरमा २८ जनाको मोतियाबिन्दुको शल्यकृया गरिएको छ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड वर्कर काजी थेबेका अनुसार २ सय ८८ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् । कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा पालिका केन्द्र यासोक बजारमा नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले आँखा उपचार केन्द्र समेत सञ्चालनमा ल्याएको छ ।
यता ताप्लेजुङको फुङ्लिङमा सञ्चालन भएको ३ दिने निःशुल्क आँखा शिविरमा ६४ जनाको मोतियाबिन्दुको शल्यकृया गरिएको छ । ६ जनाको साधारण शल्यकृया गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज गुरुङले जानकारी दिनुभयो । ३ सय २४ जनाले आँखाको परीक्षण तथा उपचार गराएको समेत उहाँले बताउनुभयो । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ,फुङ्लिङ नगरपालिका र सेवा सेवा फाउण्डेसन काठमाण्डौको आयोजना तथा फुङ्लिङ स्थित सानिमा बैंकको सहयोगमा आँखा शिविर सञ्चालन गरेको थियो । नेत्र ज्योति संघद्धारा सञ्चालित ईटहरी आँखा अस्पतालका डाक्टर अंकिता शर्माको नेतृत्वमा रहेको चिकित्सक तथा प्राविधिक टोलीले फुङ्लिङ र यासोक दुबै क्षेत्रका आँखा शिविरमा शल्यकृया,परीक्षण तथा उपचार गरेको नेत्र ज्योति संघ ताप्लेजुङका सभापति मुक्तिराज पौडेलले जानकारी दिनुभयो ।