| |

संरक्षणकर्मीहरुको सम्झाना गर्दै सालिकमा माल्यार्पण

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ७ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित भिन्तुनाडाँडामा रहेको संरक्षणकर्मीहरुको सालिकमा माल्यार्पण गरिएको छ । बिहीबार संरक्षण दिवसको अवसरमा १५ वर्षअघि हेलिकप्टर दुर्घटनामा परी मृत्युवरण गर्नुभएका विशिष्ट संरक्षणकर्मीहरुको सालिकमा माल्यार्पण गरिएको हो ।
आजभन्दा १५ वर्षअघि अर्थात २०६३ साल असोज ७ गते जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सास्थित फलेमा हेलिकप्टर दुर्घटना भई ज्यान गुमाउन पुगेका संरक्षणकर्मीसहित विशिष्ट व्यक्तित्वहरुको सम्झाना गर्दै उहाँहरुको सालिकमा माल्यार्पण गरिएको हो । जिल्लास्थित वातावरण संरक्षण तथा विकास मञ्च (ईसीडीएफ) र स्थानीय रेडियो ताप्लेजुङ ९४ मेगाहर्जको संयुक्त आयोजनामा दिवंगतहरुको सालिकमा माल्यार्पण गरिएको छ ।
आयोजक संस्थाका पदाधिकारी, अधिकारकर्मी, सञ्चारकर्मी, विद्यार्थी लगायतको उपस्थितिमा संरक्षणकर्मीहरुको सालिकमा माल्यार्पणसहित सरसफाई कार्यक्रम सम्पन्न गरिएको ईसीडीएफले जनाएको छ । हरेक वर्ष असोज ७ गते संरक्षण दिवस मनाउँदै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका दिवंगत व्यक्तित्वहरुको सम्झाना गर्ने गरिएको छ । गत वर्ष र यो वर्ष भने कोभिड महामारीका कारण औपचारिक रुपमा कुनै कार्यक्रम नगरिएको बताइएको छ ।
फक्ताङ्लुङ गाउँपालिका–६ साविक लेलेपको फले ढुङ्जे पहाडमा श्री एयरलाइन्सको बिमान (हेलिकप्टर) दुर्घटना हुँदा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जना विशिष्ट व्यक्तित्वहरुले ज्यान गुमाउने पुगेका थिए । दुर्घटनामा ज्यान गुमाउनेहरुमा राज्यमन्त्रीकी धर्मपत्नी मीना राई, भूगोलशास्त्री तथा विश्व वन्यजन्तु कोषका सल्लाहकार डाक्टर हर्क गुरुङ, विश्व वन्यजन्तु कोषका प्रतिनिधि डा. चन्द्रप्रसाद गुरुङ, विश्व वन्यजन्तु कोष अमेरिकी पूर्वी हिमालय कार्यक्रमका प्रवन्ध निर्देशक मिङ्मानोर्वु शेर्पा हुनुहुन्थ्यो ।
यस्तै राष्ट्रिय निकुञ्ज तथा विश्व वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक एवं एशियाली गैंडा विशेषज्ञ समूहका उपाध्यक्ष डा. तीर्थमान मास्के, नेपालका लागि फिनल्याण्डका कार्यबाहक राजदूत पौली मस्टोनेन, अमेरिकी सहयोग नियोगका नायव निर्देशक मार्गरेट अलेक्जेण्ड, विश्व वन्यजन्तु कोष बेलायतका संयोजक जेनिफर हेट्ली लगायत देशका प्रशासनिक क्षेत्रका वरिष्ठ अधिकारी, कुटनीतिक नियोग, सञ्चारकर्मी र व्यवसायी समेतले ज्यान गुमाएका थिए ।

Similar Posts