| |

ताप्लेजुङमा हट्यो निशेधाज्ञा,अब साँझ सम्म नै पसल खोल्न र एक तिहाइ उपस्थितिमा बिद्यालय सञ्चालन गर्न सकिने,मास्क र स्यानीटाइजरको अनिवार्य प्रयोग नभए कारवाही

खगेन्द्र अधिकारी
ताप्लेजुङ भदौ १५ । जिल्लाभर सक्रिय कोरोना संक्रमितको संख्या २ सय भन्दा कममा झरेको तथा दैनिक संक्रमित हुनेको दरमा कमी आउन थालेको आङ्कडाका आधारमा ताप्लेजुङ प्रशासन कार्यालयले बुधवारबाट लागु हुने गरी निशेधाज्ञा हटाएको छ । मंगलवार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले संक्रमणमुक्त हुनेको दर बढेको तथा दैनिक संक्रमित दरमा कमी आएकोले तत्कालका लागि निशेधाज्ञा थप नगर्ने निर्णय सुनाउनु भएको थियो । निशेधाज्ञा हटेपनि मास्क र स्यानीटाइजरको प्रयोग,भौतिक दुरी कायम सहितका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भने अनिवार्यता कायम गरिएको प्रजिअ पाण्डेले बताउनुभयो । ‘मास्क नलगाए र भौतिक दुरी कायम नगरिएको पाइए प्रारम्भिक रुपमा जनही सय रुपैंयाका दरले जरीवाना र त्यो भन्दा हद भए संक्रामक रोग निवारण ऐन अनुसार कारवाही गर्ने छौं’प्रजिअ पाण्डेले भन्नुभयो । मंगलवार अपरान्ह सम्ममा ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १ सय ६७ मात्र रहेको छ । ताप्लेजुङमा गत बैशाख २० गते देखि निशेधाज्ञा लागेको थियो । निशेधाज्ञा हटेपनि मास्क र स्यानीटाइजरको अनिवार्य प्रयोग गर्न,भौतिक दुरी कायम गर्न,एकैपटक बढीमा २५ जना भन्दा बढी भेला नहुन र बढीमा २५ जनाको संख्यामा भेला हुँदा पनि भौतिक दुरी सहितका स्वास्थ्य सुरक्षाका सबै उपायको अनिवार्य पालना गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ । २५ जना भन्दा बढी उपस्थित हुने प्रकृतिका कुनै पनि गतिविधि तथा सभा सम्मेलन गर्न भने तत्काल पाइने छैन । यसअघि साँझ ५ बजे पछि बन्द हुने फुङलिङका बजार पसल बुधवारबाट साविक झैं अनुकूल समय सम्म सञ्चालन हुन पाउने भएका छन् । होटल तथा रेष्टुरेन्टहरु भने यसअघि नै देखि बेलुकी ८ बजे सम्म मात्र सञ्चालन हुन पाउने व्यवस्था थियो । बैठकले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको बिद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा २०७७ अनुसारका मापदण्ड तथा प्रकृया पूरा गरी कूल कक्षा संख्या वा बिद्यार्थी संख्याको एक तिहाइ संख्याको उपस्थितिमा आलोपालो वा सिफ्ट गराइ कक्षा सञ्चालन गर्न सक्ने निर्णय समेत गरेको छ । अब जोखिम मूल्याङ्कनका आधारमा कुनै पनि पालिकाले कुनै गाउँ÷टोल÷वडा वा पूरै पालिकाभरी लक डाउन गर्नुपर्ने देखिएमा लक डाउन कार्यान्वयका लागि जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति समक्ष सिफारिस गर्नुपर्ने छ । यस्तै अन्तर आवद्धताको आधारमा छिमेकी जिल्लासंग समन्वय गरी स्मार्ट लक डाउन कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले गत असार मसान्त पछि कोभिड–१९ संक्रमण तथा व्यवसथापनका लागि भएको एम्बुलेन्स भाडा वापतको २७ हजार,ब्लाङ्केट बापतको १९ हजार र काबेली हेल्थडेस्कमा खटिने जनशक्तिको खाना र खाजा खर्च बापतको ७४ हजार रुपैंयालाइ अनुमोदन गरेको छ । प्रजिअ पाण्डेका अनुसार कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिमा मिक्वाखोला बाहेकका अरु ८ वटा स्थानीय तहबाट प्रति पालिका २ लाख रुपैंयाका दरले प्राप्त भएको १६ लाख रुपैंया बजेटमध्ये १५ लाख ९६ हजार ४ सय ५ रुपैंया खर्च भइ हाल कोषमा ३ हजार ५ सय ९५ रुपैंया मौज्दात रहेको छ ।

Similar Posts