सिदिङ्वा गाउँपालिकाको बजेट अधिबेशन ३० असारका लागि आवहान
खगेन्द्र अधिकारी
ताप्लेजुङ,२५ असार । पालिका अध्यक्षलाइ कोरोना संक्रमण भएपछि रोकिएको ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको बजेट अधिबेशन असार ३० का लागि आवहान भएको छ । गाउँसभाका सदस्य सचिव एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार पालिका अध्यक्ष नरबहादुर कडरियाले गाउँ तथा नगरसभा सञ्चालन ऐन २०७५ को दफा ३ बमोजिम असार ३० का लागि बजेट अधिबेशन आवहान गर्नु भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पालिका अध्यक्षलाइ कडरियालाइ नै कोरोना संक्रमण भएपछि पालिकाले यसअघि असार १० मा अगामी आर्थिक बर्ष २०७८।०७९ का लागि नीति,कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेको थिएन । प्रमुख प्रशासकीय अधिकृत लिङदेनका अनुसार गाउँसभाको ७ औं तथा चालू आवको बर्खे अधिबेशनमा आगामी आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने कार्य सूची तयार भएको छ । यस्तै आर्थिक र बिनियोजिन बिधयेक,न्यायिक समितिको बार्षिक प्रतिबेदन र बिभिन्न कानुनको शंसोधन बिधयेक समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको लिङ्देनले जानकारी दिनुभयो । ताप्लेजुङका ९ स्थानीय तह मध्ये सिरिजंगाले ३ असारमा,मेरिङ्देनले ९ असारमा र फुङ्लिङ नगरपालिका,आठराइ त्रिबेणी गाउँपालिका,फक्ताङ्लुङ गाउँपालिका,मैवाखोला गाउँपालिका,मिक्वाखोला गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले १० असारमा आगामी आविका लागि नीति,कार्यक्रम र बजेट ल्याएका थिए ।