|

पालिकाले राहतको सट्टा रोजगारी दिदाँको फाइदा ः बन्दाबन्दीकै बेला पनि सिरिजङ्घाका श्रमिकले कमाए ४० औं हजार

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, जेठ २९ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका दैनिक ज्यालादारीमार्फत गाँसको सममस्या हलगर्ने समुदायका सदस्यले बन्दाबन्दीकै बीचमा ४० औं हजार सम्म कमाइ गरेका छन् । अघिल्लो बर्षको बन्दाबन्दीमा राहत सामग्री बितरण गरेका स्थानीय तहले यो बर्ष राहतको सट्टा रोजगारी दिएर बन्दाबन्दीमा पनि रोजगारी कटौती हुन दिएनन् । त्यहिँ भएर होला दैनिक ज्यालादारीमार्फत जीविकोपार्जन गर्ने सिरिङ्घा गाउँपालिका वडा नं ४ तेल्लोकका मानबहादुर लिम्बूले ४० हजार ८ सय ४३ रुपैंया बुझेर लग्नु भएको छ । सिरिजङ्घा गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक हिमाल तिमल्सिनाका अनुसार वडा नं ४ तेल्लोकको भुवानी आधारभूत बिद्यालय खेल मैदान निर्माणमा खटिएका मानबहादुरले बन्दाबन्दीको समय र सो भन्दा अघि समेत गरी कूल ७९ दिन काम गर्नुभयो । त्यसबापत उहाँले ४० हजार बढी रकम बुझेर लग्नु भएको छ । तिमल्सिनाका अनुसार रोजगार प्राप्त व्यक्तिले औषतमा बार्षिक कम्तिमा १ सय दिन रोजगारी पाउँछन् । न्यूनतम् रोजगार वापत स्थानीय तहले दैनिक ५ सय १७ रुपैंयाका दरले श्रममूल्य दिने गरेको छ । पालिकाले डोजर बाहेक मानव स्रोतको उपयोगबाट नै काम गर्न सकिने स्थानहरुका भौतिक पूर्वाधारमा मजदुरमार्फत नै काम गर्ने नीति लिएको छ । स्थानीय स्तरमै रोजगारी सृजना पनि भएकोले डोजरले मात्रै सर्वाङ्गिण विकास देख्ने सामाजिक मान्यता बिपरित पालिकाले योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो ।

फोटो ः सिरिङ्घा गाउँपालिका वडा नं ४ तेल्लोकका मानबहादुर लिम्बू आफुले श्रम गरेर कमाएको श्रममूल्य बैंकबाट झिकेर लैजादैं ।

प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक तिमल्सिनाले बन्दाबन्दी र संक्रमण सन्त्रासका बीच स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर पालिकाले रोजगार कार्यक्रमका योजना अघि बढाएको बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाका १७ वटा योजना छानिएका थिए । ति मध्ये १२ वटा योजना पूरा भइसकेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १ करोड १४ लाख ६० हजार रुपैंया बजेट रहेकोमा अहिले सम्म ७१ लाख ६० हजार रुपैंया भुक्तानी भइसकेको उहाँले जानकारी दिनुभयो । पालिकाले दैनिक ज्यालादारी बापत श्रमिकले पाउने रकम समेत बैंक खातामार्फत भुक्तानी गरेको छ ।‘सबैको श्रममूल्य बैंकमार्फत उहाँहरुकै खातामा निकासा हुने र उहाँहरुले नै चेक काटेर आफ्नो खातामा जम्मा भएको मूल्य लैजाने गर्नु भएको छ’तिमल्सिनाले भन्नुभयो । उहाँका अनुसार पालिकामा जम्मा ७ सय ५६ जना बेरोजगार सूचिकृत भएका छन् । ति मध्ये प्रधानमन्त्री रोजगार कार्यक्रममा भने २ सय १५ जना र बाँकी अध्यक्ष रोजगार कार्यक्रममा समेत परिचालित भएका छन् । पालिकाले अध्यक्ष रोेजगार कार्यक्रम सञ्चालन कार्यविधि तयार गरी बेरोजगारहरुलाइ रोजगारी दिदैं आएको छ । अध्यक्ष रोजगार कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार सूचीमा सूचिकृत नागरिकलाइ पहिलो प्राथमिकता दिइएको समेत तिमल्सिनाले जानकारी दिनुभयो । बेरोजगारलाइ राहतको सट्टा रोजगारी दिएपछि बन्दाबन्दीका कारण दैनिक मजदुरीको अभावले बिहान बेलुकाको छाक टार्न हुने समस्याको पनि हल हुने सिरिजङ्घा गाउँपालिकाको बिश्वास रहेको छ । अघिल्लो बर्ष सिदिङ्वा गाउँपालिकाले पनि राहतको सट्टा रोजगारी दिएर दैनिक ज्यालादारीहरु भोकभोकै बस्नुपर्ने बाध्यता केहि कम गरेको बताएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts