ताप्लेजुङमा पहिलो चरणमा साढे अठारसयलाइ भेरोसिल खोप लगाइने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २६ । ताप्लेजुङमा पहिलो चरणमा १ हजार ८ सय ५१ जनालाइ कोरोना बिरुद्धको भेरोसिल खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङले बुधवार सञ्चारकर्मीसंग अन्र्तक्रिया गर्दै जिल्ला अस्पतालमा रहेको खोप केन्द्र सहित पालिकाका खोप केन्द्रहरुमार्फत खोप दिइने जनाएको हो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार पोखरेलका अनुसार २६ र २७ जेठमा जिल्ला अस्पतालको खोप केन्द्रबाट,२८ गते फुङ्लिङ नगरपालिका अन्र्तगतका दोखु,हाङ्देवा,फावाखोला र फुरुम्बुमा रहेका स्वास्थ्य केन्द्रबाट र ३० गते सबै पालिकाका अन्र्तगतका स्वास्थ्य संस्था वा खोप केन्द्रबाट खोप लगाइने छ । जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार ताप्लेजुङमा १४ हजार २ सय ४ पहिलो कोभिडशिल्डको पहिलो मात्रा लगाएका छन् । पहिलो र दोस्रो दुबै मात्रा लगाउनेको संख्या भने ९ सय ७८ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । चीनसंग सीमा जोडिएको पालिकाका बासिन्दालाइ समेत भेरोसिल खोप लगाउनुपर्ने भनिएपनि खोपको मात्रा अपुग भएकोले तत्कालका लागि सबै बासिन्दालाइ भने नपुग्ने भएको छ । निमित्त स्वास्थ्य प्रमुख पोखरेलका अनुसार यहाँको फक्ताङ्लुङ गाउँपालिकाका १ हजार २ सय ६४ जनाले कोभिडशिल्ड लगाएका छन् । सो खोप लगाउन लक्षित गरिएका ८ हजार ६० जना मध्ये अब ६ हजार ७ सय ९६ जनालाइ खोप लगाउनुपर्ने हुन्छ । सो मात्रा अपुग भएपछि कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा थप खोपको मात्रा माग गर्ने निर्णय समेत गरिसकेको छ ।