अन्तर्विरोध र अन्तर्विरोधको हलबारे :
–खेलप्रसाद बुढाक्षेत्री (पराग)
अन्तर्विरोधलाई कसरी बुझ्ने र अन्तर्विरोधको हल कसरी हुन्छ ? भन्ने बारेमा छोटो चर्चा गर्न आवश्यक ठान्दछु, भौतिक विज्ञानले प्रमाणित गरेको सत्य के हो भने परमाणुमा Electron र Proton को ऋणात्मक र धनात्मक गुणले गर्दा त्यहाँ गति पैदा हुन्छ र परमाणु अस्तित्वमा आउँछ। Electron र Proton भित्र थुप्रै Sup Atomic Particles हरु पनि हुन्छन् । अथवा धनात्मक र ऋणात्मक चार्ज बिचको अन्तर्विरोधका कारण Atom (परमाणु) अस्तित्व मा आएको हो । पदार्थमा भएका यस्ता अन्तर्विरोधी संघर्षको महाजालले नै कुनै बस्तु तथा विश्व ब्रह्माण्ड अस्तित्वमा ल्याएको छ।
समाजिक आर्थिक विज्ञानको बारेमा कार्ल मार्क्सको जति वैज्ञानिक दृष्टिकोण अरु कसैले दिन सकेका छैनन् । उनले यो समाजको विकासको चालक शक्ति कहाँ छ भनेर गहिरो अध्ययन गरे र नियम पत्ता लगाए । यो भ्रम नपरोस् कि मार्क्सले नियम बनाएका हैनन बरु नियम पत्ता लगाएका हुन । मार्क्सका अनुसार बिद्यमान समाजमा भएका बिपरित पक्षवीचको अन्तर्विरोध नै समाजको चालक शक्ति हो । जसका कारण समाज गतिशील हुन्छ। समाजमा भएको अन्तर संघर्ष नै त्यस्तो Engine हो जसले समाजलाई गुडाउँछ।आदिम साम्यवाद र भविश्मा आउने वैज्ञानिक साम्यवाद बाहेक दास युग, सामन्तवादी युग पुंजिवादी (साम्राज्यवादी युग र समजवादी समाजममा समेत दुई बिपरित वर्गहरुबीच संघर्ष चलिरहन्छ । त्यही अन्तर्विरोधका कारण मानव समाजले गति पैदा गरेको छ । समाज अस्तित्वमा छ । साम्यवादमा मात्र मन्छेले प्रकृतिसँग मात्र संघर्ष गर्छ । किन भने समाजमा वर्गहरुको अस्तित्व रहँदैन।
अहिले हामी नेपाली समाज विकासको कुन चरणमा छौं र वर्तमान समाजका अन्तर्विरोधहरु के के हुन् र यसको हल कसरी हुन्छ भन्ने कुराको राजनैतिक, आर्थिक, सामाजिक/संस्कृतिक फर्मुला नबुझी मनोभावनाका भरमा अन्तर्विरोधको हल हुन सक्दैन । जनयुद्ध र जनआन्दोलनले सामन्तवादको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । नेपाल पुंजीवादमा प्रवेश गर्यो । अहिले हामी यही ब्यबस्थामा छौं ।
यस ब्यबस्थाको सासन प्रणाली सुधारिएको संसदीय ब्यबस्था बनाइयो । यो सुधारिएको भनिएको संसदीय ब्यबस्थाले जनता र राष्ट्रका पक्षमा राम्रो काम गर्न सकेन । २००७ साल पछिको संसदीय शासन, २०४६ साल पछिको संसदीय शासन भन्दा विकसित, सभ्य, जनता र राष्ट्रप्रति बफादार हुन्छ भन्ने आम बुझाई थियो । तर व्यबहारले के प्रमाणिात गर्यो भने सडे गलेको संसदीय ब्यबस्था भन्दा केहि फरक देखिएन बरु झन निर्लज्ज ढंगले पो आयो । संबिधानको रक्षा र प्रयोग गर्नु पर्नेमा राष्ट्रपति, प्रधानमन्त्री नै संबिधानको खिल्ली उडाउन थाले । अधिकारको दुरुपयोग भयो । राज्यका विभिन्न अंग र निकायहरु पुरै बेथिति, विकृति र बिसंगतिमा डुबेका छन् । अर्थ ब्यबस्था पुरै डामाडोल र बिदेशीको नियन्त्रणमा छ । मौलिक भाषा संस्कृतिको उजागर त भएको छ तर वैदेशिक भाष संस्कृतिले पुरै आक्रमण गरिरहेको छ । पछाडी परेका वर्ग, लिङ्ग, जाति/समुदायको गतिशीलतामा अवरोध उत्पन्न भएको छ। मतलव यसलाई थप स्पष्ट रुपमा यसरी बुझ्नु पर्दछ :
१. प्रतिगामी तथा यथास्थितिवादी र अग्रगामी बिचार तथा शक्ति बीचको अन्तर्विरोध- केपी ओलीले प्रतिगामी धाराको नेतृत्व गरिरहेका छन् । उनलाई सामन्तवादी अवसेसीय धाराले साथ दिइरहेको छ । भारती शासकहरुले उनीहरुको स्वार्थ र योजनामा राष्ट्रपति-प्रधानमन्त्रीलाई कांध हालेर सहयोग गरी रहेका छ्न् ।
साम्राज्यवादको नेपाल हेर्ने प्रतिनिधिको रुपमा भारतीय शासकहरु नै देखिएका छन् । यो शासन ब्यबस्थाले वैदेशिक हस्तक्षेपलाई रोक्नै सकेन । उल्टो बरु उनिहरुले नै कठपुतली बनाएर नचाई रहेका छन् । यो परिस्थितिमा तीनखाले बिचारहरु आइरहेका छन् ।
१. यो ब्यबस्थालाई बिस्थापित गरेर नयाँ अग्रगामी चरित्रको ब्यबस्थामा बदल्नु पर्दछ, यो अग्रगामी/परिवर्तनकारी/प्रगतिशील बिचारधारा हो ।
२. यो ब्यबस्था यस्तै हुनुपर्छ, यो बाहेक अर्को हुनै सक्दैन- यथास्थितिवादी बिचार
३. यो ब्यबस्था खारेजी गरेर पुरानै ठाउमा पुग्नुपर्छ- प्रतिगामी बिचार
तपाई कुन बिचार रोज्नु हुन्छ त्यो तपाईंको स्वतन्त्रताको कुरा हो । मैले १ नम्बर रोज्छु त्यो मेरो स्वतन्त्रता र अधिकार हो । ३ नम्बरको नेतृत्व केपी ओलीले गरेका छन् ।
अर्को कुरा नेपालका मध्यम तथा भएका केही पुंजीपति वर्गलाई आर्थिक स्वतन्त्रताको कुराले पिरोलेको देखिन्छ । समाजवाद आयो भने हाम्रो आर्थिक स्वतन्त्रता के हुने भनेर । अहिले दलाल तथा नोकरशाही अर्थ ब्यबस्थाले नेपाल दिन प्रतिदिन चौपट बन्दै गएको छ। अर्थतन्त्रमा नयाँ ढंगले बित्तीय पुंजीवादको विकसित रुप लिएर साम्राज्यवाद आएपछि उनीहरुको नियन्त्रणमा नेपालको अर्थब्यबस्था परेको छ । निश्चिति शक्तिहरूलाई कमिसन दिनु, आफ्नो नीति तथा कार्यक्रम लागु गर्नु, प्राकृतिक श्रोत साधन र उत्पादक शक्तिको नियन्त्रण गर्दै नेपालीहरुलाई उपभोक्ता मात्र बनाएर लुट्ने रणनीति उनिहरुको छ । त्यसैले आज नेपालीहरुले साम्राज्यवादी अर्थ नीतिका बिरुद्धमा राष्ट्रिय पुंजीवादी अर्थतन्त्र निर्माण गरेर लडनु पर्छ । त्यसैले आजको मुख्य अन्तर्विरोध भनेको साम्राज्यवादी (दलाल पुंजीवादी)/नोकरशाही अर्थ प्रणाली र समाजवादी चरित्रको राष्ट्रिय पुंजीवादी प्रणाली लागु गर्ने भन्ने अन्तर्विरोध हो । केपी ओली दलाल पुंजीवादी अर्थब्यबस्था लागु गर्दैछन् । दलाल पुंजीवादी अर्थब्यबस्थाले ब्यक्तिगत, सामाजिक तथा राष्ट्रिय पुंजीको नष्ट गर्छ । मुठ्ठीभर ब्यक्तिहरु अर्ब खर्ब पति बन्ने र जनता र राष्ट्र टाट पल्टने हुन्छ ।स्थानीय श्रोत साधनको पहिचान र प्रयोग गरी जनताको आर्थिक अवस्थामा ठूलो परिवर्तन ल्याउन स्थानीय तहलाई ठूलो बजेट बिन्योजन र दक्ष जनशक्ति दिनु जरुरी छ । सिंह दरबार भित्रका भ्रष्ट संरचनाबाट देशको सम्वृद्धि सम्भव छैन । अख्तियर दुरुपयोग अनुसन्धान आयोग जस्तो निकम्मा संस्थालाई खारेजी गरेर नयाँ संरचना निर्माण गर्नु आवश्यक छ । एक जना बरिष्ठ कानुनविदसंग कुरा हुँदा भन्नु भयो नेपालमा सबभन्दा ठूलो भ्रष्टाचार छ भने त्यो सर्बोच्च अदालतमा छ । अरुले गर्ने भ्रष्टाचार त सामान्य हो भन्नु भयो । सामन्ती तथा साम्राज्यवादी शक्तिहरू मिलेर बनाएका यस्ता जनता र राष्ट्र लुटी खाने राज्य संयन्त्रहरु नयाँ ढंगले पुनर्निर्माण गर्नु आवश्यक छ । त्यसैले यो लुटी खाने र लुटिने बिचको संघर्ष हो ।
महिला र पुरुष बीचको अन्तर्विरोध पनि अझै कायमै छ । जनसंख्यामा महिला पुरुष बराबर भए पछि अधिकार पनि बराबर हुनुपर्छ । बच्चा जन्माउने अधिकार र कर्तव्य बाहेक सबै अधिकारहरु महिला पुरुषमा बराबर हुनुपर्छ । लैंगिक बिभेदको पुरै अन्त्य गर्नुपर्छ ।
त्यसैगरी सामाजिक तथा जातीय बिभेद कायमै छ । सामाजिक जीवनमा अपहेलित भएर बाँची रहेको समुदाय छुवाछूतको कारण आक्रोशित छ। पछाडि परेका जाति समुदायलाई प्रभावकारी रुपमा राज्यको मुल प्रवहमा ल्याउनुपर्छ।
अन्तर्विरोधको हल अग्रगामी कदम चालेर गर्नुपर्छ । प्रतिगामी/यथास्थितिवादी कदम चालेर समस्याको हल हुनै सक्दैन । १६ वर्षको युवालाई लगाएको कपडा शरीरमा मिलेन भनेपछि नयाँ सिलाउनु पर्छ । १४ वर्षको उमेरमा लगाएको पुरानो त शरीरमा मिल्दैन नि । त्यसैले नेपालका किसान, मजदुर, मध्यम, राष्ट्रिय पुंजीपति वर्ग, महिला, सामाजिक छुवाछूतमा परेको समुदाय, पछाडि परेका जातिरजनजाति समुदाय एकताबद्ध भएर अग्रगामी झण्डा उठाउनुपर्छ । अन्ततः संघीय जनवादी समाजवाद नै वर्तमान अन्तर्विरोधको निकास हो ।
(लेखक नेकपा (माओवादी केन्द्र) ताप्लेजुङ जिल्ला इन्चार्ज हुनुहुन्छ ।)