|

मन्त्री आङ्बुहाङले पठाएका स्वास्थ्य सामग्री ताप्लेजुङ आइपुग्यो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट

ताप्लेजुङ,बैशाख २४ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले ताप्लेजुङका पठाएको १० शय्या र पीपीई लगायतका स्वास्थ्य सामग्री शुक्रबार बिहान ताप्लेजुङ अस्पताललाई जिम्मा लगाइएको छ । ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले प्राप्त सामग्री आफुहरुले बुझेको जानकारी दिनु भएको छ ।

मन्त्री आङ्बुहाङले कोरोना रोग रोकथाम तथा न्यूनीकरणका लागि स्टेन, टुल बक्स लगायत १० थान शय्या (बेड) ताप्लेजुङका लागि पठाउनु भएको थियो । यो संगै २ सय थान पीपीई सेट, ३ सय थान स्वाब संकलन गर्ने किट बक्स, ४५ थान थर्मलगन र १ हजार थान मास्क र २० लिटर स्यानीटाइजर सहितका सामग्री आफुले बुझेको डाक्टर लामाले जानकारी दिनुभयो ।

मन्त्री आङ्बुहाङका प्रमुख स्वकीय सचिव कुमार भुजेलले ताप्लेजुङका लागि पीसीआर परीक्षण मेसिन समेतको खोजी भइरहेको र केही समयभित्रै यसको समेत व्यवस्थापन भइसक्ने संकेत गर्नुभयो । यता आर्थिक मामिला तथा योजना मन्त्री आङ्बुहाङले भने पीसीआर मेसिन स्टकमा रहेको भए तत्काल पठाउने र नभए खरिद गरेर भए पनि तुरुन्तै पठाउने बताउनुभएको छ। पीसीआर मेसिन उपलब्ध गएको खण्डमा ताप्लेजुङसहित छिमेकी जिल्ला पाँचथर, तेह्रथुम र संखुवासभा समेतलाई सुविधा पुग्ने छ ।
यता ताप्लेजुङमा भने नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर सुरु भएपछि संक्रमण भयाभह रुपमा फैलिँदै गएको छ । बैशाख दोस्रो सातायता मात्र जिल्लामा तीन जनाको संक्रमणका कारण मृत्यु भइसकेको तथा एक युवाको समेत शंस्कास्पद लक्षण देखिएको र उनको स्वास्थ्य परीक्षण गर्न नपाई यहाँबाट रेफर भई थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
ती युवाको मृत्युपछि सो क्षेत्रमा सम्पर्क र नजिक रहेका ५८ जनाको पीसीआर परीक्षणमा ४८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ४८ जनाको बिहीबार पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९९ पुगेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभएको छ । बिहीबार नै थप १०२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको पनि प्रजिअ पाण्डेले बताउनुभयो । उक्त संख्यामध्ये यसअघि संक्रमित भएका १९ जनाको पुनः परीक्षण गर्न स्वाब पठाइएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts