|

सत्तारुढ एमालेबाटै गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
पोखरा, बैशाख १४ ।
सत्तारुढ दल नेकपा एमालेले सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ । सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रकाशन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी रहेको अवस्थामा संसद बैठक चल्न नदिने सांसद राजीव पहारीले बताए ।
विशेष अधिवेशनको दोस्रो दिनको बैठकको सुरुमै सत्तारुढ दलका सांसदले उठेर विरोध गरेका थिए । सभामुखले कुरा राख्न भनेपछि सांसद पहरीले कोरोना संकटमा पीसीआर परीक्षण नगरी बैठक बस्न नहुने बताए । सभामुख नेत्रनाथ अधिकारीले सरकारका प्रवक्ता र मन्त्रीसहित सर्वदलीय बैठकले कार्यसूची तयार पारिएकाले बस्न आग्रह गरे । एमालेका सांसदले फेरि मानेनन् ।
प्रदेश प्रमुखले अधिवेशन डाकेकाले आफूले त्यसलाई रोक्न नमिल्ने सभामुखले बताए । सभामुख अधिकारीले सत्तापक्षकै सांसदले संसद अवरुद्ध गर्नु राम्रो नहुने भन्दै बस्न आग्रह गरेका थिए । एमालेका सांसदले उठेर विरोध गरेपछि सभामुख अधिकारीले १८ मिनेटका लागि बैठक स्थगित गरेका छन् । सरकारका मन्त्रीबाहेक अरु सांसदले उठेर विरोध गरेका थिए ।
जनमोर्चाले पनि साथ दिने विश्वास दिलाएपछि कांग्रेस, माओवादी र जसपाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराउने थाहा पाएपछि वैशाख १ गते मध्यरातमा मुख्यमन्त्रीले अधिवेशन अन्त्य गराएका थिए । मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ । वैशाख २ गते २८ सांसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश प्रमुख अमिक शेरचनले १३ गते विशेष अधिवेशन बोलाएका थिए ।
गण्डकी प्रदेशसभामा कांग्रेस, माओवादी र जसपाका गरी २८, जनमोर्चाका ३ जना गरी ३१ जना विपक्षीसँग छ । एमालेका २७ सांसद छन् । सोमबार एमालेकै लहरमा बसेका स्वतन्त्र सांसद दीपक मनाङेले बस्ने छुट्टै ठाउँ मागेपछि मंगलबारदेखि त्यसरी नै व्यवस्था गरिएको छ । उनले जनमोर्चाले जता मत हाल्न उतै उभिने बताएका छन् । कांग्रेस, माओवादी र जसपाले अविश्वासको प्रस्तावमा चलखेल हुन नदिन रिसोर्टमा राखेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts