| |

ताप्लेजुङलाई असारभित्र साक्षर जिल्ला घोषणा गरिँदै

अरुलाई पनि शेयर गरौ !

-खगेन्द्र अधिकारी
ताप्लेजुङ, चैत ३० ।
ताप्लेजुङका स्थानीय तहले आउँदो २० असारभित्रै ताप्लेजुङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न आ–आफ्ना पालिकालाई निराक्षरमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सोमबार सदरमुकाम फुङ्लिङमा स्थानीय तहका प्रमुख पदाधिकारीसँग गरेको अनुशिक्षणमा स्थानीय तहका प्रमुखहरुले असार २० अगावै आ–आफ्ना स्थानीय तहलाई साक्षर पालिका घोषणा गर्ने र २० असारभित्रै ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतसँग छलफल गरेको थियो । केन्द्रका निर्देशक गीता घिमिरेका अनुसार पालिकाहरुले जेठ मसान्तदेखि असार पहिलो साताभित्रै आ–आफ्ना पालिकालाई पूर्ण साक्षर पालिका घोषणा गर्ने छन् । यहाँका सबै पालिका साक्षर पालिका घोषणा भएपछि २० असारभित्रै ताप्लेजुङलाइ पूर्ण साक्षर जिल्ला घोषणा गरिने प्रतिबद्धता पत्रमा स्थानीय तहका पदाधिकारीले हस्ताक्षर गरेका छन् ।
अन्तक्र्रियामा नौ वटा स्थानीय तह रहेको जिल्लाका मेरिङ्देन, फक्ताङ्लुङ र सिदिङ्वा गाउँपालिकाका कोही पनि पदाधिकारी उपस्थित थिएनन् । ति पालिकाहरुलाई प्रतिबद्धता अनुसार अभियानमा सरिक गराई पूर्ण साक्षर पालिका घोषणा गराउने अभियानमा अग्रसर गराउन पहल लिने जिम्मेवारी जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनलाई दिइएको छ । प्रमुख मादेनले यो महत्वपूर्ण कार्यमा सबै स्थानीय तहको उत्तिकै भूमिका भएकोले अनुशिक्षण कार्यक्रममा सहभागी नभएका स्थानीय तहलाई पनि अभियानमा सहभागी गराउन आफुले अग्रसरता लिने र सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शिक्षा अधिकृत बिमला मिश्रका अनुसार प्रदेश १ का १४ जिल्लामध्ये ताप्लेजुङ र सोलुखुम्बु दुईवटा जिल्ला मात्र साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको छ । केन्द्रले अघि सारेको साक्षर नेपाल वर्ष २०७६ को अवधारणापत्र अनुसार स्थानीय तहले आफ्नो पालिकाभित्र बसोबास गर्ने १५ वर्ष र सो भन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा स्थानीय तहको अभियान समन्वय समितिको सिफारिसमा बाँकी निराक्षरलाई आगामी एक वर्षभित्र साक्षर गराउने प्रतिबद्धता गरी साक्षर भएको संस्थागत निर्णय गरी बिशेष समारोहको आयोजनासहित पूर्ण साक्षर पालिका भएको घोषणा गर्न सकिने छ ।
यस्तै कुनै स्थानीय तह वा जिल्लामा बसोबास गर्ने १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा सो तहले साक्षर भएको घोषणा नगरे पनि अभिलेख सत्यापनका आधारमा प्रदेश वा केन्द्रबाट सो क्षेत्रलाइ ‘साक्षर’ भएको मान्यता दिन सकिने भएको छ । विगतमा साक्षर घोषणा भएका र हालसम्म साक्षर घोषणा गर्ने प्रतिवद्धता गरेका जिल्लाहरुका हकमा १५–६० वर्ष उमेर समूहलाई कायम गरिएको आधारलाई थयावत् राखी साक्षर घोषणा गरिने र स्थानीय तहबाट ६० वर्ष भन्दा माथिका निरक्षर प्रौढहरुलाई साक्षरताको अवसर र नवसाक्षरलाई निरन्तर सिकाइको अवसर प्रदान गर्नुपर्ने दायित्व स्थानीय तहको हुने भएको छ ।
अवधारणापत्र अनुसार राष्ट्रभाषा र मातृभाषाका वर्ण÷अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ, मोवाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने, ० देखि ९ सम्मका अंक अक्षर लेखाइ,१ देखि १ सय सम्मको गणनाा,लेनदेन हरहिसाब रखाइ,सरल चित्र,पोष्टर,साइनर्बोड र ट्राफिक संकेत पढाइ, लेखाइ र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो बिचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन, भित्ते पात्रो हेरी तिथिमिति बताउन र बैंक भौंचार भराइ र चेक खिचाइका कार्यमा ५० प्रतिशत सक्षमता हासिल गर्न सक्ने व्यक्तिलाई साक्षरता प्रमाणपत्र दिन सकिने छ ।
ताप्लेजुङका ९ मध्ये २ स्थानीय तहले यसअघि नै पूर्ण साक्षर पालिका घोषणा गरिसकेको जनाएका छन् । फुङ्लिङ नगरपालिका र आठराई त्रिबेणी गाउँपालिकाले २०७५ साल भदौ महिनामै आफुहरुले पूर्ण साक्षर पालिका घोषणा गरेको जनाएका हुन् । फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई र आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले आफुहरुको पालिका पूर्ण साक्षर घोषणा भइसकेको जानकारी दिनुभयो ।
सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ र मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँवाले पालिका स्तरमा रहेका लक्षित उमेर समूहका निराक्षरको सूची तयार हुँदै गरेकोले केही समयपछि नै पूर्ण साक्षर पालिका घोषणा गर्न सकिने बताउनुभयो । पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ र मैवाखोला गाउँपालिकाका शिक्षा अधिकृत लक्ष्मीमाया गोम्देनले पालिका स्तरको अभियाचन चलिरहेकोले असार पहिलो साताभित्रै पूर्ण साक्षर घोषणा गर्न सकिने आधार रहेको बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts