भाइरसले स्वरूप बदलेपछि विज्ञहरू चिन्तित

अरुलाई पनि शेयर गरौ !

लन्डन,पुस २ । बेलायतमा कोभिड–१९ को नयाँ रूप देखिएको खबर बाहिरिएसँगै थप चिन्ता बढेको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले सोमबार संसद्‍मा नयाँ भाइरसबारे जानकारी दिँदै यो इंग्ल्यान्डमा द्रुत गतिमा फैलिइरहेको बताएका छन् । बेलायतले यसबारे विश्व स्वास्थ्य संगठनलाई समेत जानकारी गराइसकेको ह्यानककले बताए । बीबीसीका अनुसार, बेलायतका ६० वटा स्थानीय निकायहरूले नयाँ भाइरसको रेकर्ड राखेका छन् भने इंग्ल्यान्डको दक्षिण क्षेत्रमा मात्र एक हजारभन्दा बढी नयाँ केस पाइएका छन् । बेलायती वैज्ञानिकहरूले भाइरसको नयाँ रूपबारे अध्ययन गरिरहेका छन् । बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिम्खडाले यो चिन्ताको विषय भएको बताए । ‘सिम्खडाले हाल आएका कोभिड–१९ विरुद्धको खोपले नयाँ किसिमको भाइरस रोकथाम गर्न सक्छ कि सक्दैन भन्न नसकिने बताए । तर नयाँ भाइरसविरुद्धको अर्को खोप बनाउन त्यति समय भने नलाग्ने उनी बताउँछन् । बेलायतमा कोभिड खोप सुरु भएकै बेला संक्रमण तीव्र फैलिइरहेको छ । ब्रिटिस मेडिकल जर्नल र हेल्थ सर्भिस जर्नलले क्रिसमसका बेला प्रतिबन्ध खुकुलो गर्ने सरकारको घोषणाले झन डरलाग्दो अवस्था निम्त्याउने चेतावनी दिएका छन् । पछिल्लो साता लन्डनका केही क्षेत्रमा कोरोना संक्रमण ७० प्रतिशतसम्म वृद्धि भएको तथ्यांकले देखाएको छ ।
लन्डनमा थप कडा प्रतिबन्ध
लन्डनमा कोभिड–१९ को संक्रमण बढ्ने क्रम नरोकिएपछि सरकारले बुधबारदेखि थप कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सरकारले संक्रमणको आधारमा अहिले ‘उच्च अलर्ट’ (टियर टु) मा रहेको लन्डनलाई ‘अति उच्च अलर्ट’ (टियर थ्री) मा लैजाने निर्णय गरेको हो । गत डिसेम्बर २ देखि एक महिना लामो देशव्यापी लकडाउन खुला गरेसँगै सरकारले इंग्ल्यान्डमा संक्रमणको आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा क्षेत्रगत वर्गीकरण गरी प्रतिबन्धहरू लागू गरेको थियो । अति उच्च अलर्ट (टियर थ्री) मा रहेका क्षेत्रमा अलग घरमा बस्ने मानिसले घरभित्र जमघट गर्न पाउने छैनन् । फरक घरका ६ जनासम्मको समूहमा पार्क, समुद्री किनारालगायत ठाउँमा मात्र भेट्न छुट छ  । बार, पब, रेस्टुरेन्ट, क्याफेलगायत हस्पिटालिटी व्यवसाय बन्द रहनेछन् । टेकवे र डेलिभरी सेवा भने सुचारु राख्न पाइनेछ । पसल, जिमखाना, हेयर ड्रेसरलगायत व्यवसाय खुला रहनेछन् । तर सिनेमासहितका इन्डोर मनोरञ्जनहरू बन्द रहनेछन् । खेल इभेन्टहरू प्रत्यक्ष हेर्न दर्शक स्टेडियमसम्म जान पाउँदैनन् । अति उच्च अलर्टमा रहेका क्षेत्रहरूमा बाहिरबाट आउने र त्यहाँबाट बाहिर जाने यात्राहरू पनि नगर्न आह्वान गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts