जुन १५ को झडपमा चीनतर्फ पनि ठूलो क्षति भएको थियो ः भारत

(एजेन्सी),भारत,भदौ ३१ । भारतका रक्षामन्त्री राजनाथ सिंहले गत जुन १५ तारिखमा भारतीय सेनासँग भएको झडपमा चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गरेका छन् । बिबिसी हिन्दीका अनुसार मंगलबार संसदलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले सीमा रक्षाका क्रममा भारतका सेनाले देखाएको बहादुरीका कारण चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गरेका हुन् । गत जुन १५ तारिख दुई देशको सीमा पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो । त्यतिबेलै भारत सरकारले झडपमा आफ्ना २० सैनिकको मृत्यु भएको जानकारी गराएको थियो। तर चीनतर्फ के कति क्षति भयो भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन । त्यो झडप भएको ३ महिनापछि भारतका रक्षामन्त्री सिंहले चीनका सेनातर्फ पनि धेरै क्षति भएको दाबी गरेका हुन् ।