|

जोसुकैले भ्रष्टाचार गरे पनि अपराध नै हो, क्षम्य हुन सक्दैन ः प्रधानमन्त्री ओली

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्ने बताउनु भएको छ । उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि मुद्दा चलेको बताउँदै ओलीले यसबाट भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता प्रमाणित हुने उल्लेख पनि गर्नु भएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भन्नु भएको छ, ‘भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्दछ । उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि यस वर्ष मुद्दा चलेका छन् । भ्रष्टाचार विरुद्धको हाम्रो शून्य सहनशीलतालाई यसले प्रमाणित गर्दछ ।’ ओलीले लेख्नु भएको छ , ‘ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै हो र क्षम्य हुन सक्दैन । सरकार यसमा स्पष्ट छ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत दुई आर्थिक वर्षमा ७९२ भ्रष्टाचारका मुद्दा चलाएको र हाल पनि करिब ८ हजार उजुरी उपर अनुसन्धान भइरहेको उल्लेख गर्दै ओलीले भनेका छन्, ‘नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिएको छ र भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हदसम्म ओरालो लागेको छ ।’ भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता हो भन्दै ओलीले यसका लागि सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्रलगायत सबैको सहयोग र सहकार्य आवश्यक पर्ने बताउनु भएको छ । ओलीले थप लेख्नु भएको छ, ‘हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कार र व्यवहारमा परिवर्तन गर्नु पनि त्यत्तिकै आवश्यक छ । सामाजिक सुशासनले व्यवसायिक एवम् राजनीतिक सुशासनका लागि दबाब सिर्जना गर्दछ ।’ सार्वजनिक संस्थाहरुको सदृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धताजस्ता कुरा पनि भ्रष्टाचार नियन्त्रणका निरोधात्मक उपाय भएको ओलीको भनाइ छ । कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नसकिने बताउँदै ओलीले त्यसको बहुपक्षीय र सुक्ष्म अध्ययन गर्न जरुरी रहेको उल्लेख गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts