भोलीबाट प्रत्येक साता फेरी फुङ्लिङका बजारपसल बन्द हुने
ताप्लेजुङ,मंसिर,११ । प्रत्येक शुक्रवार बन्द हुँदै आएको फुङ्लिङ बजार मंसिर १२ गते शुक्रवारबाट साविक झैं बन्द हुने भएको छ । चाडवाडलाइ मध्यनजर गर्दै गत असोज १६ गते शुक्रवारबाट खुल्ला भएको फुङ्लिङ बजार फेरी साप्ताहिक रुपमा बन्द हुने ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिनुभयो । दशैं–तिहार–छैठ लगायतका चाडपर्वलाइ मध्यनजर गरी बाणिज्य संघले असोज १६ गते शुक्रवार देखि बन्द हुने साप्ताहिक बजार खुलाएको थियो ।‘अब फेरी बजार पसल प्रत्येक साताको शुक्रवार एकदिन बन्द हुनेछन्’बरालले भन्नुभयो । यसैबीच ताप्लेजुङ उद्योग बाणिज्य संघले चिसो मौसम सुरु भएकोले यो बेला हुने बिभिन्न किसिममा संक्रमण बिरुद्ध बिशेष सावधानी अपनाउन समुदायका सदस्यलाइ आग्रह गरेको छ । बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले चिसो मौसम सुरु भएकोले रुघाखोकी,ज्वरो लगायतका स्वास्थ्य समस्या देखा पर्ने भन्दै यसबिरुद्ध बिशेष सावधानी अपनाउन आग्रह गर्नु भएको छ । कोरोना संक्रमणको सन्त्रास समेत भयभित बनिरहेका बेला देखिने अन्य स्वास्थ्य समस्याले अझ समस्यामा पार्ने भन्दै बाणिज्य संघले बिशेष सावधानी अपनाउन आग्रह गरेको छ । उसले सुख्खा मौसममा आगलागि जस्ता बिपद्का घटना समेत हुने भएकोले सर्तक र सम्बेदनशिल रहन पनि आग्रह गरेको छ ।