| |

पर्यटनमन्त्रीद्वारा कर्मचारीलाई जिम्मेवार भएर काम गर्न निर्देशन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २१ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्न ताप्लेजुङका कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसँग शुक्रबार भेटघाट गर्नुहुँदै मन्त्री भट्टराईले सेवाग्राहीको हितलाई ध्यानमा राखी आ–आफ्नो जिम्मेवारी निर्वाह निर्देशन दिनुभएको हो ।
मन्त्री भट्टराईले कार्यालय स्तरबाट थप सुधार गर्नुपर्ने सेवा प्रवाहका काम भएमा सम्बन्धित कार्यालय र कार्यालय प्रमुखले नै गर्नुपर्ने तथा मन्त्री र मन्त्रालयस्तरबाट सुधार गर्नुपर्ने काम भएमा टिपोट गरी पठाउन कार्यालय प्रमुखलाई आग्रह पनि गर्नुभएको छ । प्रदान गर्नुपर्ने सेवा सुविधा सहजता गरी प्रवाह गर्न र अनियमितता साथै भ्रष्टाचारलाई निरुत्साहित गर्न कार्यालय नै जिम्मेवार हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
कतिपय कार्यालयबाट आवश्यक सेवा प्रवाह नहुने र कार्यालय प्रमुख वा नेतृत्व नै गैहजिम्मेवार रहने गरेको सेवाग्राही पक्षबाट गुनसोसमेत आउने गरेको बताउनुहुँदै मन्त्री भट्टराईले त्यस किसिमको कमी कमजोरी भएमा सच्याउनुपर्ने सुझाव दिनुभयो । सेवा प्रवाहमा कुनै असहजता भएमा साथै जनप्रतिनिधिसँगको सहयोग आवश्यक पर्ने अवस्थामा सङ्घ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गर्नसमेत कार्यालय प्रमुखहरुलाई सुझाउनुभयो ।
यस्तै कोभिड–१९ को प्रभाव कायम नै रहेकाले स्वास्थ्य सुरक्षा र सतर्कता अपनाउन पनि मन्त्री भट्टराईले सबैसँग आग्रह गर्नुभयो । उहाँले जिल्लास्तरमा सदरमुकाममा ५० र प्रत्येक स्थानीय तहमा कम्तिमा पाँच/पाँच शय्याको आइसोलेसन कक्ष व्यवस्थापन गर्न पनि प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित कार्यालयका नेतृत्वलाई सुझाव दिनुभयो । विकास निर्माणको कार्यमा पनि विशेष सक्रियता देखाउन कर्मचारीलाई मन्त्रीले आग्रह गर्नुभएको मन्त्रीका प्रेस संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts