भारतीय सेनाको नियन्त्रणमा चिनियाँ सैनिक

अरुलाई पनि शेयर गरौ !

नयाँदिल्ली,कात्तिक ४ । भारतीय सेनाले पूर्वी लद्दाखस्थित सीमा क्षेत्रबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ । भारतीय सेनाले लद्दाखको डेमचोकस्थित भारतीय क्षेत्रमा प्रवेश गरेपछि चिनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको छ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै उनलाई चिनियाँ सेनाको जिम्मा लगाइने जनाएको छ । ‘चिनियाँ सेनाका कर्पोरल वाङ या लङलाई एलएसी पार गरेको अवस्थामा अक्टोबर १९ मा नियन्त्रणमा लिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ सेनाले उनको अवस्थाबारे खोजी गरेको छ । स्थापित मान्यताअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई चिनियाँ जनमुक्ति सेनासमक्ष हस्तान्तरण गरिनेछ ।’ चिनियाँ सैनिकलाई मेडिकल सुविधा, अक्सिजन, खाना तथा अन्य सुविधा उपलब्ध गराइएको पनि भारतीय सेनाले जनाएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा भारत र चीनबीच पाँच महिनादेखि तनाव जारी छ । हाल भारत र चीन दुवै देशले विवादास्पद हिमाली सीमा क्षेत्रमा ५० हजारभन्दा बढी सैनिक खटाएका छन् । सीमा विवादका कारण भारत र चीनबीच लामो समयदेखि तनाव जारी छ । दुई देशीय सीमा क्षेत्रमा करिब डेढ महिनाअघि गोली हानाहान पनि भएको थियो । सीमा क्षेत्रमा गोली चलेको यो चार दशकभन्दा लामो समयपछि पहिलो पटक हो । दुई देशबीच सन् १९६२ मा सीमा विवादका कारण युद्ध भएको थियो । उक्त युद्धमा भारत नराम्ररी पराजित भएको थियो । चीनले आफ्नो ३८ हजार वर्गकिलोमिटर क्षेत्र भारतले ओगटेको आरोप लगाउँदै आएको छ । त्यसका लागि हजारौं चिनियाँ सैनिक परिचालन गरिएको भारतको दाबी छ । सीमा समस्या समाधान गर्न दुवै पक्षले तीन दशकमा दर्जनौं पटक वार्ता गरिसकेका छन् । तर पनि ठोस उपलब्धि भने हुन सकेको छैन । तनाव चुलिँदै गएपछि भारतले विभिन्न चिनियाँ कम्पनीले भारतको निर्माण क्षेत्रमा पाएको ठेक्का सम्झौतासमेत रद्द गरिदिएको छ । त्यसका साथै भारतले करिब १ सय २० वटा विभिन्न चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाइसकेको छ ।(कान्तिपुरबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts