थाइल्यान्डमा चर्कियो प्रदर्शन

अरुलाई पनि शेयर गरौ !

बैंकक,कात्तिक २ । प्रधानमन्त्रीको राजीनामा तथा नयाँ संविधानको माग गर्दै थाइल्यान्डमा गरिएको प्रदर्शन चर्किंदै गएको छ । लगातार चौथो दिन शनिबार पनि राजधानी बैंककमा सडकमा ठूलो संख्यामा प्रदर्शनकारीहरू भेला भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघिका प्रदर्शनका क्रममा प्रहरीले पानीका फोहोरा तथा अश्रुग्यासको प्रयोग गरेपछि झडपहरू भएका थिए । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउसमेत गरेको थियो । प्रदर्शनकारीले राजाको अधिकार कटौती गरी पूर्ण लोकतन्त्र बहालीको माग गरेका छन् । प्रदर्शन चर्केपछि सरकारले संकटकाल जारी गर्दै पाँच जनाभन्दा बढीलाई भेला हुन रोक लगाएको थियो । तर त्यसको बेवास्ता गर्दै लोकतन्त्र पक्षधरहरू सडकमा उत्रेका हुन् । शनिबारको प्रदर्शनका क्रममा लोकतन्त्र पक्षधरहरूलाई एकै स्थानमा भेला हुन रोक्ने उद्देश्यले कतिपय सडक तथा रेल सञ्जाल बन्द गरिएको थियो । तर उनीहरू योजनाबद्ध रूपमा विभिन्न रेल स्टेसनमा भेला भएर विरोध जनाएका थिए । विरोधका सहभागीले आफूहरूले बाहिरी दुनियाँलाई बैंककको अवस्थाबारे जानकारी दिन चाहेको बताएका समाचार संस्था एपीले उल्लेख गरको छ । ‘हामीले तत्काल खासै केही गर्न सक्दैनौं । हामीले गर्न सक्ने भनेको विश्वलाई यहाँको अवस्था देखाउने मात्र हो,’ प्रदर्शनमा सहभागी २६ वर्षीया भनेरोनिकाले भनिन् । यसअघि थाई नरेश महा भाजिरालंकर्ण जर्मनीबाट फर्किने क्रममा आन्दोलनरत समूहले राजाविरुद्ध नाराबाजीसमेत गरेका थिए । विद्यार्थी समूहहरूले नेतृत्व गरेको प्रदर्शनका सहभागीले प्रधानमन्त्री प्रयुथ चान–ओचाको राजीनामाको माग गर्दै प्रदर्शन चर्काएका हुन् । पूर्वसेना प्रमुख चान–ओचा गत वर्ष भएको विवादास्पद चुनावमार्फत प्रधानमन्त्री बनेका हुन् । त्यसअघि सन् २०१४ मा उनले एक रक्तपातविहीन ‘कू’ मार्फत शासनसत्ता सम्हालेका थिए । थाइल्यान्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानुनी व्यवस्था भए पनि प्रदर्शनकारीहरूले राजाविरुद्ध नाराबाजी गरेपछि शान्ति र सुव्यवस्था कायम गर्न संकटकाल लगाउनुपरेको सरकारले जनाएको छ । लोकतन्त्रका लागि भन्दै युवाहरूले गर्दै आएको आन्दोलन थप हिंसात्मक बन्ने देखेपछि देशमा संकटकाल लगाउनुको विकल्प नदेखिएको सरकारी अधिकारीको दाबी छ । प्रदर्शनकारीले नागरिक अधिकारका लागि बैंककका सडकमा ओर्लिन र आन्दोलनलाई थप सशक्त पार्न आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts