| |

मेरिङ्देन गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, असोज ३० ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको प्रशासकीय भवन बन्ने भएको छ । गाउँपालिकाको केन्द्र (मुकाम) सान्थाक्राको सुलुम्फीमा प्रशासकीय भवन बन्ने भएको हो । जिल्लाको नौ स्थानीय तहमध्ये आफ्नो कार्यालय भवन निर्माण गर्न सुरु गर्नेमा मेरिङ्देन गाउँपालिका तेस्रो बनेको छ । यसअघि फुङ्लिङ नगरपालिकाले सुरुमा कार्यालय भवन निर्माण गर्न थालेको र अहिले नगरको कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाले कार्यालय वा प्रशासकीय भवन निर्माण कार्य सुरु गरिसकेको छ ।

चालू आर्थिक वर्षदेखि निर्माण सुरु गरिएको मेरिङ्देन गाउँपालिकाको प्रशासकीय भवनको बिहीबार गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले शिलान्यास गर्नुभएको छ । गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेसहितको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लिम्बूले लामो समयको पहल तथा कसरतबाट जग्गा प्राप्त गरी कार्यालय भवन निर्माण कार्य सुरु गर्न सफल भएको बताउनुभयो ।
कार्यालय प्रमुखसमेतको समन्वय र सहजीकरणबाट स्थानीय राजनीतिक दलसँग सहमति जुटाएर साथै जग्गा दाताहरुको सहयोगले भवन निर्माण प्रक्रिया सुरु गर्न सफल भएको उहाँको भनाइ छ । गाउँपालिका उपाध्यक्ष तुम्बाहाम्फेले पनि स्थानीय राजनीतिक दल, सबै वडाका वडाध्यक्ष र जनप्रतिनिधि, कार्यालय प्रमुख र सबै कर्मचारीसहितको पहल तथा प्रयत्नबाट भवन निर्माणको कार्य सुरु गर्न सफल भएको बताउनुभयो ।

भवन निर्माण सम्पन्न गर्नलाई मोटो रकम लाग्ने हुँदा बजेट व्यवस्थाका लागि अध्यक्ष, आफू र सिङ्गो गाउँपालिकाले प्रदेश तथा संघीय सरकार साथै मन्त्री र सांसदमार्फत निरन्तर पहल गरिरहेको पनि उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले निर्माण सुरु भएको प्रशासकीय भवन सम्पन्न गर्नलाई स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी सबैलाई आग्रह पनि गर्नुभएको छ । उता भवन निर्माण कार्यका लागि राजनीतिक दलका तर्फबाट गर्नुपर्ने सहयोगमा कमी हुन नदिने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मेरिङ्देन गाउँपालिका कमिटी अध्यक्ष नेत्र नेपाली र नेपाली काँग्रेसका गाउँपालिका कार्यसमितिका उपसभापति प्रेम लिम्बूले प्रतिवद्धता जनाउनुभयो ।

सान्थाक्रा स्वास्थ्यचौकी भवन शिलान्यासको झलक,

यता शिलान्याससँगै प्रशासकीय भवन निर्माण कार्य प्रारम्भ भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेका अनुसार बोलपत्र आह्वानमार्फत मालिका देवी/हिमालयन जेभी कम्पनीलाई भवन निर्माणको जिल्ला दिइएको छ । कुल लागत रकम छ करोड ६३ लाख ९७ हजार ८२० रुपियाँमध्ये पाँच करोड छ लाख १९ हजार ९८८ रुपियाँमा मालिका देवी/हिमालयन जेभीले ठेक्का परेको उहाँले बताउनुभयो ।

उक्त रकमबाट गाउँपालिकाको चारतले प्रशासकीय भवन आउँदो २०७९ साल असोज ५ गते निर्माण सम्पन्न गर्नेगरी गत असोज ५ गते निर्माण कम्पनीसँग सम्झौता भएको उहाँले जानकारी दिनुभयो । भवन निर्माण गर्ने कुल मध्ये चालू आवका लागि करिव दुई करोड रुपियाँ रहेको र बाँकी रकम आगामी आवमा बिनियोजन गर्ने योजना रहेको उहाँले बताउनुभयो । यसैबीच सम्पन्न गर्नुपर्ने मिति अगावै प्रशासकीय भवन निर्माण गरिसक्ने मालिका देवी/हिमालयन जेभीका प्रतिनिधि हिमालयन कन्स्ट्रकसनका प्रोपाइटर इन्द्रकुमार केदेमले बताउनुभयो । नियमानुसार निर्धारित समय अगावै आयोजना सम्पन्न गर्दा दिइने प्रोत्साहन पुरस्कार पाउनेगरी भवन निर्माणको कार्यलाई तीब्रता दिने योजना रहेका निर्माण व्यवसायी केदेमको भनाइ छ ।

त्यस्तै बिहीबार नै वडा नं. २ सान्थाक्रामा निर्माण हुने बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सहितको स्वास्थ्यचौकी भवनको पनि शिलान्यास गरिएको छ । २०७९ असोज पहिलो साताभित्रै सम्पन्न गर्नेगरी स्वास्थ्यचौकी भवन निर्माणको जिम्मा धुलिखेल/मुवेन जेभी कम्पनी पाँचथरलाई दिइएको छ । उक्त जेभी कम्पनीबीच एक करोड ८६ लाख रुपियाँ रकमबाट स्वास्थ्यचौकी भवन निर्माण गर्नेगरी सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले जानकारी दिनुभयो । प्रशासकीय तथा स्वास्थ्यचौकी दुवै भवनको शिलान्यासमा पन्डित, बिजुवा, लामा र झाक्रीले आ–आफ्नो संस्करअनुसार तान्त्रिक पाठ र पूजा गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts