|

देउवालाई भारी हुदैं निधी

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज ९ । कोरोना भाइरसको कहर र आन्तरिक विवादका कारण नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्न पुगेको छ । फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेगरी तय गरिएको मितिमा महाधिवेशन नहुने निश्चित भएको छ । नयाँ महाधिवेशनको नयाँ मिति तय गर्न कांग्रेसले असोज १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । एकातिर महाधिवेशनको नयाँ मिति कहिले तोक्ने भन्ने विषय छ भने अर्कातिर नेतृत्वका लागि नेताहरूको दौड पनि जारी छ । सभापति शेरबहादुर देउवासहित संस्थापनइतर पक्षबाट आधा दर्जन नेताले नेतृत्वका लागि आकांक्षा राख्दै आएका छन् । नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालासहितका नेताहरू नेतृत्वको आकांक्षी देखिँदा एक कार्यकाल दोहोरिने तयारीमा रहेका सभापति देउवालाई आफ्नो समूहबाट अर्का आकांक्षी नहुँदा ठूलो राहत मिलेको थियो । तर उपसभापति विमलेन्द्र निधिले साउन २९ गते आफू पनि सभापतिको आकांक्षी रहेको जनाउँदै भेटेरै सहयोग गर्न आग्रह गरेयता देउवा दबाबमा पर्नुभएको छ । यसबाट इतर पक्षले भने केही राहत महसुस गरेको छ । आधा दर्जन आकांक्षीलाई मिलाएर देउवाविरुद्ध एउटा उम्मेदवार खडा गर्नु फलामको चिउराजस्तै छ । तर संस्थापनबाटै दुई उम्मेदवार बनेको अवस्थामा पहिलो चरणमा आकांक्षी सबै मैदानमा खडा भए पनि केही फरक नपर्ने उनीहरूको बुझाइ छ । नेतृत्वका लागि उम्मेदवार धेरै हुँदा पहिलो चरणमा सभापति चयन हुन नसक्ने र दोस्रो चरणमा धेरै भोट पाउने दुईजनाबीच प्रतिस्पर्धा हुने भएकाले सहमति गर्नुपर्ने दबाब कम हुने आकांक्षीहरूको बुझाइ छ । महामन्त्री कोइरालाले सभापति देउवा र निधि दुवै उम्मेदवार बनेको अवस्थामा इतर पक्षबाट पनि दुई÷तीनजना उम्मेदवार बन्न सक्ने बताएका छन् । कांग्रेस विधानमा सभापति हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । के उपसभापति निधिले देउवासँग विद्रोह गर्दै १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिनुहोला त ? देउवा र निधि दुवै एकअर्काको सहयोगबिना नेतृत्वमा पुग्ने सम्भावना कम रहेको भन्दै निकट केन्द्रीय सदस्य मीन विश्वकर्मा भन्नुहुन्छ, ‘दुवैजनाको सहमतिमा संस्थापन पक्षबाट सभापतिमा एउटा मात्र उम्मेदवार हुन्छ । आवश्यक परे उहाँहरूलाई मिल्न हामी दबाब खडा गर्नेछौं ।’ नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टी र सरकारका विभिन्न जिम्मेवारीसहित उपसभापति भएका नेताले सभापतिको आकांक्षा राख्नु अस्वाभाविक नभएको उनको बुझाइ छ । ‘महाधिवेशनको ध्यान आफूतिर खिच्ने उहाँ (निधि) को प्रयास हो,’ उहाँले भन्नुभयो, ‘समय छ, छलफल गरेरै अघि बढ्छौं ।’ निधिको सहयोगबिना देउवा सभापतिमा निर्वाचित हुने सम्भावना नरहेको र देउवाको सहयोगबिना निधिको उम्मेदवारीको पनि औचित्य नहुने निकटहरूको बुझाइ छ । विकले भनेजस्तै निधिले महाधिवेशनको ध्यान आफूतिर खिच्न मात्र पार्टी नेतृत्वका लागि आकांक्षा राख्नु भएको हो ? निधिको कार्यशैली र स्वभाव के हुन्छ भनेर जोख्ने अनि मात्र निर्णय लिने खालको नभएको निकट केन्द्रीय सदस्य बताउँछन् । देउवा पार्टी सभापति भएपछि र त्यसअघि पनि पटकपटक निकटहरूको भेलामा असहमति राख्ने गरेको बताउँदै ती नेताले भने, ‘आफूलाई लागेपछि स्पष्ट विचार राख्ने र त्यसको नाफाघाटाभन्दा अन्तिमसम्म दृढतापूर्वक उभिने गरेकाले यदि उहाँले सभापति देउवालाई उम्मेदवार बन्छु भनिसक्नुभएको हो भने पछि हट्ने सम्भावना कम देख्छु ।’ १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने आश्वासन पाएकाले निधिले १३औं महाधिवेशनअघि देउवालाई बिनासर्त सहयोग गरेको निकट केन्द्रीय सदस्यको दाबी छ । सभापति देउवा, नेता रामचन्द्र पौडेलपछि निधि पार्टीका प्रभावशाली र निरन्तर सक्रिय नेता रहेको उहाँ बताउनुहुन्छ । ‘समूहभित्रको दोस्रो नेताले नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्नुलाई अन्यथा लिनुहुँदैन,’ उहाँ भन्नुहुन्छ । तर निधिको सहयोगबिना देउवा सभापतिमा निर्वाचित हुने सम्भावना पनि नरहेको र देउवाको सहयोगबिना निधिको उम्मेदवारीको औचित्य नहुने निकटहरूको बुझाइ छ । सभापति देउवासँगको भेटअघि नै निकट नेताहरूसँग १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने विषयमा व्यापक छलफल गरेका निधिले त्यसपछिका दिनमा भेटघाटलाई तीव्र बनाउनु भएको छ । सकेसम्म सभापति देउवाको समर्थनमै मैदानमा खडा हुने र नभए पनि उम्मेदवारी दिने निधिले निकटहरूलाई बताउँदै आएका छन् । त्यसो भए निधि सभापतिको उम्मेदवार हुन्छन् वा अन्य विकल्पहरू पनि छन् ? निकटहरू सभापति देउवालाई मनाएर उम्मेदवार बन्नु निधिका लागि पहिलो र उत्तम विकल्प भएको बताउँछन् । कृष्णप्रसाद भट्टराईले गणेशमान सिंहलाई आफूभन्दा माथि राखेजस्तै निधिले पनि देउवालाई अविभावकको सम्मान दिँदै राष्ट्रपति, प्रधानमन्त्रीको अवसर आउँदा अघि सार्नेगरी विश्वासको वातावरण निर्माण गरेर उनलाई मनाउने एउटा विकल्प हुन सक्ने निकटहरूको बुझाइ छ । तर, देउवा सभापतिमा एक कार्यकाल दोहो¥याउने तयारीमा रहेकाले निधिलाई सहजै नेतृत्वका लागि अघि सार्ने सम्भावना कम रहेको पनि उनीहरूको बुझाइ छ । त्यस्तो अवस्थामा निधिले देउवासँग विद्रोह गर्नु वा पार्टीको अन्य जिम्मेवारी पाउनेगरी सम्झौता गर्नु दोस्रो विकल्प हुने निकटहरूको बुझाइ छ । पार्टी उपसभापतिको जिम्मेवारी सम्हालिसकेका निधिलाई संसदीय दलको नेता बनाउनेगरी मनाउने सम्भावना पनि रहने विश्लेषण छ । देउवाले निधिलाई संसदीय दलको नेता वा पार्टीको अन्य जिम्मेवारी दिएर मनाउनुभन्दा अन्य नेताहरूको साथ र सहयोगमा सभापति बन्ने प्रयासमा जुट्नु हुने छ । सोही क्रममा पार्टीका विभिन्न तहका नेताहरूसँग छलफल थालेका देउवाले केही समयअघि महामन्त्री शशांक कोइरालासँग सहयोग मागिसक्नु भएको छ । यद्यपि शशांक आफैं पार्टी नेतृत्व लिन मैदानमा खडा हुने बताउँदै आउनु भएको छ । ‘निधि पनि सभापतिको उम्मेदवार बनेको अवस्थामा देउवा र कोइराला परिवारको सहकार्यबिना पहिलो चरणमा नेतृत्व चयन हुँदैन,’ एक नेताले भने, ‘त्यस्तो अवस्थामा देउवाले कि शशांकलाई आफ्नो पक्षमा ल्याउने वा उहाँको पक्षमा समर्थन गर्ने सम्भावना पनि रहन सक्छ ।’ देउवा र निधिबीचको दूरी बढ्दै जाँदा कांग्रेसमा रहेको परम्परागत गुटहरू भत्केर नयाँ समीकरण बन्न सक्छ । सभापति देउवा, महामन्त्री शशांक कोइरालासहितको एउटा समीकरण र उपसभापति निधिसहित नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेताहरूको अर्को समूह बन्न सक्ने नेताहरू बताउँछन् । पौडेललाई पार्टीको अविभावक बनाउँदै निधि, सिंहसहितका नेताहरूले पार्टी र सरकारको जिम्मेवारी बाँडफाँडसहित नयाँ समीकरण बन्न सक्छन् । कम्युनिस्टहरूसँग लड्न १४औं महाधिवेशनमा सर्वसम्मतिले पार्टी नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारेका निधिसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहको समीकरण निर्माणका लागि पनि विभिन्न तहका नेताहरू सक्रिय हुनुहुन्छ । तर उक्त सम्भावना नरहेको विश्लेषण भएको बताउँदै एक नेताले भने, ‘आफूलाई केन्द्रमा राखेर समीकरण निर्माण हुने अवस्था नभए मात्र निधिले छुट्टै समूहसहित उम्मेदवारी दिनेछन् ।’ देउवासँग निधिले विद्रोह गरेको अवस्थामा अर्का नेता रामचन्द्र पौडेलबाहेक अन्य आकांक्षीलाई स्वीकार गर्ने सम्भावना नरहेको दाबी गर्दै ती नेताले भने, ‘देउवा र पौडेलपछि योग्यता, क्षमता, सक्रियता, निरन्तरता, जिम्मेवारी सबै दृष्टिकोणले निधि नै अघि छन् ।’ यद्यपि निधिले सहमतिबाट पार्टीको नेतृत्व चयन गर्नुपर्ने भन्दै नेतृत्वका आकांक्षीसहित अन्य नेताहरूसँगको छलफल अघि बढाउँदै लग्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts