फेरि कोरोनाको ‘हटस्पट’ बन्दै बेलायत
(एजेन्सी)लन्डन,असोज ६ । बेलायत फेरि कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बन्ने देखिएको छ । भाइरसको संक्रमणबाट युरोपकै सबैभन्दा बढी प्रभावित बेलायतले पहिलो संकट सामना गर्न नभ्याउँदै दोस्रो लहरको अनुभवसमेत गरेको छ । सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले अहिले नै कोरोना भाइरस संक्रमण रोक्ने प्रयास नगरिए अक्टोबर मध्यसम्म दैनिक ५० हजार संक्रमित हुने चेतावनी दिएका छन् । सोमबार बिहान प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटबाट टेलिभिजन सम्बोधन गर्दै भ्यालेन्सले यही अवस्था रहे नोभेम्बर मध्यसम्म दैनिक दुई सय जनाका दरले मृत्यु हुन सक्ने पनि बताए । संक्रमण बढेसँगै अस्पताल भर्ना हुने क्रम र मृत्युदर बढ्दै गएको उनले बताएका थिए । भ्यालेन्ससँगै रहेका सरकारका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिस ह्विटीले बेलायत अहिले कोरोना संक्रमणको अवस्था जटिल बिन्दुमा रहेको र गलत दिशातर्फ बढिरहेको चेतावनी दिए । अहिले प्रत्येक साता संक्रमित दोब्बर बढेका जनाउँदै बेलायतले जाडोयाममा धेरै चुनौती सामना गर्नुपर्ने उनले उल्लेख गरे । दुवै सल्लाहकारहरूले सरकारलाई बेलैमा कदम चाल्न सुझाव दिएका छन् । बेलायतमा आइतबार २४ घण्टामा ३ हजार ८ सय ९९ संक्रमित थपिएका थिए भने १८ जनाको मृत्यु भएको थियो । अहिले १ हजार ८१ जना अस्पतालमा छन् । बेलायतमा कुल मृतक संख्या ४१ हजार ७ सय ७७ पुगेको छ भने संक्रमित संख्या ३ लाख ९५ हजार बढी छ । बीबीसीका अनुसार, अहिले बेलायतमा ७० हजार जना संक्रमित छन् । राष्ट्रिय तथ्यांक कार्यालयले सरदर दैनिक ६ हजार संक्रमित भइरहेको जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार बिहान कोभिड–१९ संक्रमण रोकथामका लागि कस्तो रणनीति लिने भन्नेबारे छलफल गर्न आपत्कालीन कोब्रा बैठक डाकेका छन् । उक्त बैठकपछि उनले हाउस अफ कमन्समा सम्बोधन गर्ने कार्यक्रम छ । उनले बेलायतमा थप प्रतिबन्ध लगाउनेबारे सोचिरहेको बताइएको छ तर उनले दोस्रोपटक राष्ट्रिय लकडाउन गर्नुपरे त्यो अर्थतन्त्रका लागि ज्यादै अभिशाप हुने बताएका छन् । इंग्ल्यान्डमा सम्भवतः दुई साता ‘मिनी लकडाउन’ हुने चर्चा पनि छ ।