अमेरिकी सभामुखमा पुनः पेलोसी
वासिङ्टन,पुस २१ । अमेरिकाको सभामुखमा नान्सी पेलोसी पुनः निर्वाचित भएकी छन् । डेमोक्र्याटका तर्फबाट पुनः उम्मेदवारी दिएकी पेलोसी झिनो मतान्तरले निर्वाचित भएकी हुन् । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा डेमोक्र्याटिक दलको बहुमत छ । पेलोसीले अघिल्लो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उल्लंघन गर्न नदिन सकारात्मक भूमिका निभाएकी थिइन् । त्यसका साथै कोरोना भाइरसको महामारी व्यवस्थापनका लागि सरकार गम्भीर नभएको भन्दै उनले अवाज उठाइरहेकी थिइन् । उनको विगतको भूमिकाका कारण डेमोक्र्याटिक दल उनलाई पुनः जिम्मेवारी दिने निर्णयका पुगेको एक सांसदको भनाइ छ । सभामुख पेलोसी थप दुई वर्षका लागि पुनः निर्वाचित भएकी हुन् । यो उनको अन्तिम कार्यकाल हुने अपेक्षा गरिएको छ । पेलोसीले कोरोनाका कारण जीवन गुमाएका ३ लाख ५० हजारभन्दा बढी, रोजगारी गुमाएका करोडौं र समस्यामा परेका सबैका अमेरिकी नागरिकका लागि आफूले सदैव आवाज उठाउने बताएकी छन् । पेलोसीका विरुद्ध म्याककार्थीलाई उम्मेदवार बनाइएको थियो । उनले झिनो मतले पराजय भोग्नुपरेको छ ।