कोरोना रिपोर्ट नआउँदै शव हस्तान्तरण, दाहसंस्कारपछि कोरोना पुष्टि

अरुलाई पनि शेयर गरौ !

पोखरा,भदौ २७ । पोखराको फिस्टेल अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी एक महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । ती महिलाको कोरोना रिपोर्ट नआउँदै अस्पतालले शव आफन्तलाई बुझाएको खुलेको छ । पोखरा–५ मालेपाटनकी ४५ वर्षीया ति महिलाको शुक्रबार बिहानै आफन्तले दाहसंस्कार गरिसकेका छन् । ब्लड क्यान्सरबाट पीडित उहाँ बिहीबार गैह्रापाटनको फिस्टेल अस्पतालमा भर्ना हुनु भएको थियो । बिहीबार नै उहाँको स्वाब संकलन गरी क्षेत्रीय क्षयरोग केन्द्रको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उहाँको शुक्रबार बिहान १ः१५ बजे भेन्टिलेटरमा राखेको अवस्थामा मृत्यु भएको थियो । अस्पतालले कोरोनाले नभई अन्य कारणले मृत्यु भएको भन्दै बिहान परिवारलाई शव हस्तान्तरण ग¥यो । परिवारले पोखराको रामघाटमा मृतकको अन्त्येष्टि गरे । महिलाको अन्त्येष्टिमा ठूलो संख्यामा मलामीको उपस्थिति थियो । अस्पतालले शव लैजान भनेकाले आफूहरुले ल्याएर अन्त्येष्टि गरेको मृतकका श्रीमानले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सोध्दा मृत्युको कारण कोरोना होइन, फरक हो, लैजानु भनेपछि रिपोर्ट नआउँदै अन्त्येष्टि गरेका हौं ।’प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले नमुना परीक्षणका लागि पठाएपछि रिपोर्ट नआउँदै शव हस्तान्तरण गर्नु अस्पतालको गम्भीर लापर्बाही भएको बताउनुभयो । ‘अस्पताल प्रशासनले गरेको गल्तीले गर्दा शुक्रबार मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी फिस्टेल अस्पतालले लिने कि नलिने ?,’ उहाँले भन्नुभयो, ‘यो गल्तीमा प्रदेश सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने ?’ जनस्वास्थ्यको विषयमा महामारीको अवस्थामा अस्पतालले मनपरी गर्न नपाउने उहाँ बताउँनुहुन्छ । नमुना संकलन गरेपछि रिपोर्ट नआइञ्जेल कुर्नुपर्छ भन्ने जान्दाजान्दै अस्पताले प्रदेश सरकारलाई अटेर गर्दै शव हस्तान्तरण गरेको उहाँले बताउनुभयो । अस्पतालका अध्यक्ष भोला श्रेष्ठको मोबाइल अफ छ । फिस्टेल अस्पतालकी प्रवक्ता मधु ज्ञवालीले भने आफूहरु छलफलमै रहेकोले यस विषयमा थप बोल्न नचाहने बताउनुभयो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २४ पुगेको छ । (कान्तिपुरबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts