नयाँ अलैँचीको मूल्य सुरुमै ओरालोतिर
-प्रयास लिम्बू
ताप्लेजुङ, भदौ १५ । ताप्लेजुङमा अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थाल्दादेखि नै मूल्य भने ओरालो लाग्न थालेको छ । छ दिनअघि अर्थात गएको बुधबारदेखि मात्र स्थानीय बजारमा निस्कन थालेको अलैँचीको मूल्य सुरुमै ओरालो लाग्न थालेको हो ।
जिल्लाकै प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको नयाँ उत्पादन (फसल) को मूल्य अपेक्षा गरेभन्दा धेरै न्युन आएपछि किसान तथा व्यवसाथी दुवैलाई चिन्तित बनाएको छ । बजारमा निस्कन थालेको नयाँ अलैँचीको मूल्य अपेक्षा गरेजस्तो नआएपछि किसानमा निरासा छाएको छ भने उनीहरु असन्तुष्ट समेत बनेका हुन् । यता अलैँचीको सुरुको मूल्यका कारण कारोबार नफस्टाउनेभन्दै स्थानीय व्यवसायीलाई चिन्तित बनाएको छ ।
अलैँची उत्पादक किसानले विगतका वर्षमा झैं नयाँ उत्पादनले राम्रो मूल्य पाउने अपेक्षा राखेकोमा अपेक्षाभन्दा आधा बढीले कम अर्थात प्रतिमन (४० किलोग्राम) २१ हजार रुपियाँ मात्र मूल्य आएको छ । नयाँ अलैँची बजारमा निस्कन थाल्दा सुरुको दुई दिनसम्म प्रतिमन २२ हजार रुपियाँले कारोबार भएको स्थानीय व्यवसायीले बताएका छन् । त्यसपछि सुरुको मूल्यमा एक हजारले घटेर अहिले प्रतिमन २१ हजार रुपियाँले मात्र कारोबार भइरेहको फुङ्लिङ बजारका व्यवसायी भद्रबीर रेग्मीले बताउनुभयो ।
बजारमा निस्कन थाल्दादेखि नै मूल्य ओरालो लाग्नु राम्रो सङ्केत नभएको स्थानीय व्यवसायी रेग्मीको भनाइ छ । गत वर्ष नयाँ अलैँची बजारमा निस्कन थाल्दा सुरुमै प्रतिमन ३२ हजार रुपियाँ सम्ममा कारोबार भएको थियो । अपेक्षा गरेअनुसार अलैँचीको मूल्य नआउँदा कारोबार नफस्टाउने भएकाले व्यवसायी चिन्तित बन्नुपर्ने अवस्था आएको रेग्मीले बताउनुभयो ।
यस्तै फुङ्लिङ बजारका अर्का व्यवसायी दिनेश अधिकारीले अलैँचीको मूल्य प्रतिमन २१–२२ हजार रुपियाँ सन्तोषजनक मूल्य नभएको बताउनुभयो । ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएको अधिकारीले हालको मूल्यले किसानको श्रमसहित लगानी धान्नलाई धौ–धौ पर्ने र व्यवसायीको अलैँची व्यापार नाफा आर्जन गर्ने खालको नहुने बताउनुभयो । उहाँले यसवर्ष कोभिड–१९ ले गर्दा पनि अलैँचीको मूल्य धेरै राम्रो आउने सम्भावना नदेखिएको बताउनुभयो ।
कुनैबेला अलैँची प्रतिमन एक लाख २० हजार रुपियाँ सम्ममा कारोबार भएको थियो । अचाक्ली मूल्य आएपछि धान, मकै लगायत खाद्यान्न बाली हुने जमिन मासेर अलैँची खेती गर्न थालेका ताप्लेजुङका किसानले अलैँचीको मूल्य बर्सेनि घटेर २० हजार रुपियाँ प्रतिमनसम्म आइपुगे पछि वैकल्पिक खेतीबारे सोच्न थालेका छन् । हालको मूल्यले लगानी नधान्ने भएपछि केही किसानले अलैँची बगान मासेर खाद्यान्न बाली नै सुर गरेका छन् भने केहीले जमिनअनुसार फलपूmलका बिरुवा र अन्य रुख रोप्नेजस्ता वैकल्पिक योजनाको तरखरमा रहेका पाइएको छ ।