मिक्वाखोलाको नीति तथा कार्यक्रम, एकघरःदश ओखर देखि सय भुईकटहर सम्मका लागि बजेट
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १८ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अध्यक्ष कृषि आयोजना अन्र्तगत कृषकलाई फलफुल र पशुपालन केन्द्रित कार्यक्रममा अनिवार्य समाबेश गर्ने नीति ल्याएको छ ।
आर्थिक बर्ष २०७७।०७८ को बार्षिक बजेट एवम् नीति तथा कार्यक्रममा अध्यक्ष कृषि आयोजना र उपाध्यक्ष नारी उद्यमशिलता कार्यक्रम अघि सारेको हो । अध्यक्ष कृषि आयोजना अन्र्तगत गाउँपालिकाले एकघरःदश ओखर,एकघरः बीस घ्यूफल,एकघर ः सय भुँईकटहर अभियान ल्याएको छ । यस्तै पशुपालनमार्फत गाउँपालिकालाई आत्मनिर्भर बनाउन एक टोल एक फार्म कार्यक्रम अघि सारेको छ । जस अन्र्तगत टर्की,बाख्रा र बंगुर पालन कार्यक्रममार्फत गाउँपालिकालाई मासुमा पूर्णतया आत्मनिर्भर बनाईने गरी नीति ल्याएको छ । गाउँपालिकाले एक वार्डःएक कृषि उपज संकलन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । उसले कृषि उपज उत्पादन व्यवस्थापनका लागि एक कृषि बजारःएक चिस्यान केन्द्र स्थापना गर्ने पनि भनेको छ । सिताके च्याउ, बेसार, अदुवा, टिमुर र चिम्फिङ खेती तथा प्याकेजिङ उद्योग स्थापनालाई गाउँपालिकाले मूल लक्ष्यको रुपमा राखेको छ । उपाध्यक्ष नारी उद्यमशिलता कार्यक्रम अन्र्तगत नारी उद्यमशिलता क्षमता विकास तालिम,नेतृत्व विकास तालिम,महिला उद्यमीलाई औजार र उपकरणका अनुदान सहितका कार्यक्रम अघि सार्ने नीति तथा बजेट तर्जुमा गरिएको गाउँपालिका अध्यक्ष रामकुमार साँवाले जानकारी दिनुभयो । गाउँपालिकाले स्थानीय सहकारीमार्फत सार्वजनिक यातायात सञ्चालनको सहजीकरणका लागि सम्भाव्यता अध्ययन समेत गर्ने भएको छ ।