|

पाँच लाख पर्यटक अटाउनेगरी पूर्वाधार बनाउन निर्देशन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं भदौ १५ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्नेगरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा सोमबार नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरि पाँच लाख पर्यटक अट्न सक्नेगरी पर्यटन पूर्वाधार पदमार्ग, साइकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री भट्टराईले प्रदेश स्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिनुभएको छ । उहाँले पर्यटन बोर्डलाई सात वटा भाषा नेपाली, हिन्दी, चाइनिज अरवी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामग्री तयार गर्न आग्रह गर्नुभयो । अनावश्यक खर्च कटौती गरी आर्थिक मितब्ययिता कायम गर्न पनि उहाँले निर्देशन दिनुभयो ।
विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिनुभएको हो । उहाँले पर्यटन बोर्डका पदाधिकारीहरुलाई कोभिड-१९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गर्दै विश्व सम्पदा, हिमाल, टेकिङ सिमसार, म्युजियम निकुञ्ज लगायतका भर्चुअल टुरको सामग्री तयार गर्न निर्देशन दिनुभएको हो । अहिलेको खोज अनुसन्धान, योजना निर्माण रिपोर्ट तथा पर्यटकीय क्षेत्रका बृत्तचित्र लगायत सामग्रीहरु प्रकाशन तथा प्रशारण गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले कोभिडका कारण पर्यटन ब्यवसायी, पर्यटन मजदुर लगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा शुरु गर्न समेत पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ ।
उहाँले विभिन्न देशका रहेका पर्यटन डेस्कलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका संघ संस्थाहरुसँग नेटवर्क विस्तार गर्न समेत आग्रह गर्नुभयो । कोभिड-१९ ले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेका भन्दै मन्त्री भट्टराईले कोभिडपछि पर्यटन उत्थानका लागि केके गर्न सकिन्छ, त्यसको आवश्यक योजना बनाउन समेत आग्रह गर्नुभयो ।
उहाँले नेपालमा स्वास्थ्य, शिक्षा, खेलकुद पर्यटनको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गर्न आग्रह गर्नुभयो । छलफलमा पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले आर्थिक वर्ष २०७६/७७ को प्रगति र ०७७/७८ का कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

नेपाल पर्यटन बोर्डका कर्मचारीसँग छलफल गर्नुहुँदै पर्यटनमन्त्री योगेश भट्टराई ।
अरुलाई पनि शेयर गरौ !

Similar Posts