अन्तरजातीय विवाहका कारण छोराले बाबुको किरिया गर्न पाएनन्
उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ११ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा अन्तरजातीय विवाह गरेका कारण छोराले बाबुको किरिया गर्न पाएका छैनन् । साविक साब्लाखु–३ सालबोटेका राजिन्द्र बुढाक्षेत्रीले विश्वकर्मा थरकी दलित महिलासँग विवाह गरेका कारण बाबुको किरिया गर्नबाट बञ्चित भएका हुन् ।
विगत २०६० सालमा गाउँकै दलित महिलासँग प्रेम विवाह गरेका बुढाक्षेत्री त्यसै बेलादेखि परिवारबाट बहिस्कृत भएका थिए । घर र परिवारबाट बहिस्कृत भएपछि श्रीमतीसँग छुट्टै बस्दै आउनुभएका बुढाक्षेत्रीलाई गत साउन १८ गते बाबु कुलप्रसाद बुढाक्षेत्रीको मृत्यु हुँदासमेत दागबत्ती दिन र किरिया बस्नबाट बञ्चित गराइएको हो ।
बाबुको मृत्यु भएपछि किरिया गर्ने तयारी गरेका उहाँलाई आफ्नै दाजु र परिवारभित्रैका अन्य दाजुभाइले बञ्चित गराएका हुन् । दलितसँग विवाह गरेपछि अछुत भएको र बाबुको किरिया गरे वा किरिया गर्ने घर आएमा बुढाक्षेत्री परिवारभित्र अशुद्ध हुनेभन्दै दाजुभाइले आफूलाई किरिया गर्न नदिएको बुढाक्षेत्रीले बताउनुभयो । बुढाक्षेत्री कुलबाट बहिस्कृत भएको, अछुत, तल्लो कामी जाती भएको भन्दै आफूलाई अपमानजन्य व्यवहार भएको पनि उहाँले बताउनुभयो ।
यता बाबुको किरिया गर्न नदिएको र आफूलाई जातीय विभेदजन्य व्यवहार गरेकोभन्दै बुढाक्षेत्री र उहाँकी श्रीमती फुलमाया बुढाक्षेत्री विश्वकर्माले जिल्ला प्रहरी कार्यालयमा बुधबार किटानी जाहेरी दिनुभएको छ । अपमानजन्य व्यवहार गरी बाबुको किरिया बस्न नदिएकोभन्दै बुढाक्षेत्री दम्पतीले जातीय विभेद तथा छूवाछुत कसुरमा दाजु प्रेम बुढाक्षेत्रीसहित चार जनाविरुद्ध जाहेरी दिएका हुन् ।
किटानी जाहेरी दिइएकामध्ये आफ्नै काका ७२ वर्षीय रामबहादुर बुढाक्षेत्री, नाताले दाजु पर्ने ५१ वर्षीय बुद्धिप्रसाद बुढाक्षेत्री र ५३ वर्षीय खड्गबहादुर बुढाक्षेत्री रहेका छन् । विपक्ष बनाइएकाहरुले आपूmहरुलाई तल्लो जातको भइसक्यौ, अछुत भइसक्यौ, बुढाक्षेत्री थर लेख्न पाउँदैनौ, तिमीहरुले सेन्चुरी विश्वकर्मा थर लेख्नुपर्छ जस्ता अपमान र जातीय विभेदजन्य व्यवहार गरिएको जाहेरीमा उल्लेख गरिएको छ ।