|

बित्तीय संस्थाले समेत भुक्तानी गर्न थाले समूह सदस्यको जीवन बीमा बापतको रकम

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ११ । बित्तीय संस्थाले कर्जा लगानी संगै आफ्ना सदस्यको जीवन बीमा समेत गराएका हुन्छन् भन्ने धेरैलाई थाह नभएको हुन सक्छ । तर,स्वावलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले भने कर्जा लिएका व्यक्तिको मृत्यु पछि उहाँका आफन्तलाई बीमा बापतको मृत्यु दावी भुक्तानी गरेर लघुबित्त बित्तीय संस्थाको साख जगाउने काम गरेको छ । कर्जा लिनु भएकी एक सदस्यको मृत्युपछि स्वावलम्बनले बिहीबार उहाँका आफन्तलाई कर्जा लिएको रकममा ४० प्रतिशत थप गरेर जीवन बीमा बापतको रकम भुक्तानी गरेको हो । स्वावलम्बनले आफ्ना सदस्यको कालगतिले मृत्यु भएको भए कर्जा रकममा ४० प्रतिशत र दुर्घटनामा परी मृत्यु भएको भए कर्जा रकममा १४० प्रतिशत थप गरेर बीमा बापत मृत्यु दावी भुक्तानी गर्दै आएको छ । स्वावलम्बन लघु बित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङका प्रवन्धक मणिराज चेम्जोङका अनुसार केन्द्र सदस्य फुङ्लिङ नगरपालिका वडा नं ८ निवासी दीपा तामाङको मृत्यु पछि उहाँका श्रीमान् दीपकलाई ४ लाख ६३ हजार २०५ रुपैंया हस्तान्तरण गरिएको छ । फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई(तारा)ले दीपकलाई सो बराबरको चेक रकम हस्तान्तरण गर्नु भएको छ । स्वावलम्बनका शाखा प्रवन्धक चेम्जोङका अनुसार २०७१ साल माघ १५ गते स्वावलम्बनमा आवद्ध हुनु भएकी दीपाले सोहि बर्षको फागुन १७ गते पहिलो पटक कर्जा लिनु भएको थियो । बिभिन्न थरीका गरी उहाँको कूल कर्जा ३ लाख ३० हजार रुपैंयाको थियो । २ बर्षे हदम्याद अवधिको कर्जा लिनु भएकी उहाँबाट तेस्रो पक्ष बीमा गराउन बित्तीय संस्थाले १ हजार २१५ रुपैंया अतिरिक्त रकम लिएको थियो । कर्जा हदम्याद अघि नै गत असार ३ गते मृत्यु भएकोले स्वावलम्बनले दीपाबाट लिएको बीमाको प्रिमियम बापतको १ हजार २१५ रुपैंया समेत फिर्ता गरेको छ भने कूल कर्जा रकममा ४० प्रतिशत थप गरेर जीवन बीमा रकम भुक्तानी गरेको छ । दीपाका श्रीमान्ले दीपाले लिएको कूल कर्जा मध्ये २ लाख ८६ हजार ४५८ रुपैंया भने कर्जा लिएको बित्तिय संस्थालाई तिर्नुपर्ने हुन्छ । दीपाले अरु कर्जा र त्यस बापत लाग्ने ब्याज भने यसअघि नै तिरिसक्नु भएको थियो । बिना धितो कर्जा लगानीको आधार देखाएर बित्तीय संस्थाले समूहमा आबद्ध गराएर महँगो ब्याजदरमा कर्जा लगानी गर्छन् भन्ने गाँईगुँई सुन्नु भएका नगर उपप्रमुख भट्टराईले बित्तिय संस्थाले समूह सदस्यलाई कर्जासंगै बीमा समेत गराउन थालेको प्रति प्रसन्नता प्रकट गर्नुभयो । यस्तो प्रकृयाले समूह सदस्यको जोखिम बहनमा थोरै भएपनि योगदान पुग्ने उहाँको बिश्वास छ । स्वावलम्बनका शाखा प्रवन्धक चेम्जोङका अनुसार २०६८ सालबाट ताप्लेजुङमा बित्तिय सेवा प्रदान गरिरहेको यो स्वावलम्बनले अहिले सम्म यहाँका करिव २ हजार ५ सय घरधुरीलाई कर्जा लगानी तथा समूहमा आबद्ध गराएको छ ।‘बित्तिय संस्था साझेदार सदस्यको सारथी समेत हो भन्ने कुरा यस्तै कुराले पुष्टी गर्दै जाने हो’उहाँले भन्नुभयो ।
फोटो ः लघु बित्त बित्तीय संस्थाद्धारा मृत्यु दावी भुक्तानी गरिदैं । तस्बिर ः खगेन्द्र । उज्यालो पोष्ट

अरुलाई पनि शेयर गरौ !

Similar Posts