सेरेना विलियम्स बाहिरिन्
(एजेन्सी),भदौ ११ पूर्व विश्व नम्बर एक सेरेना विलियम्स ग्रिककी मारिया साक्करीसँग स्तब्ध हुँदै वेस्टर्न एन्ड साउथर्न ओपनबाट बाहिरिएकी छन् । न्युयोर्कमा मंगलबार सम्पन्न खेलमा विश्व नम्बर १३ की मारियासँग ५–७, ७–६ (७–५) र ६–१ ले स्तब्ध हुँदै २३ पटक ग्रान्ड स्लाम विजेता सेरेना वेस्टर्न एन्ड साउथर्न ओपनबाट बाहिरिएकी हुन् । दुई घण्टा १७ मिनेटसम्म प्रतिस्पर्धा चलेको खेलमा सेरेनाले तेस्रो सेटसम्म खेले पनि सफलता हात पार्न सकिनन् र मारियाले ब्याकह्यान्ड सट हिर्काउँदै सेरेनाको चुनौती समाप्त पारिन् । ग्रिसकी मारियाले क्वार्टरफाइनलमा ब्रिटेनकी जोहान्ना कोन्टाविरुद्ध चुनौती प्रस्तुत गर्नेछिन् । कोन्टाले भने भिरा भोनारेभामाथि ६–४ र ६–२ ले सोझो सेटमा जित निकालेकी थिइन् । यस प्रतियोगितापश्चात् पराजित सेरेना न्युयोर्कमा आगामी ३१ अगस्टदेखि हुने युएस ओपनका लागि क्वारिन्टिनमा हुनेछिन् । ३८ वर्षे सेरेना दुई घण्टाभन्दा बढी संघर्ष गरेर भए पनि यस प्रतियोगिताको उपाधि जित्ने पाको खेलाडी बन्ने लक्ष्यमा थिइन्, तर सफल भइनन् । सन् २०१५ मा उनैले ३३ वर्षको उमेरमा यस प्रतियोगिताको उपाधि जित्दै सबैभन्दा पाका खेलाडी बनेकी थिइन् । ‘मैले जसरी खेल्ने गर्थें, त्यो तरिकाले खेल्न निकै कठिन भयो,’ विलियम्सले भनिन्, ‘एक हप्तामा नौ घण्टासम्म खेल्नु भनेको कठिन नै हुन्छ । कहिले पनि त्यसरी खेल्नु परेको थिएन, यो मेरा लागि नयाँ थियो ।’ सात पटक डबल फल गरेकी सेरेनाले सर्भिसबाट ६६ प्रतिशत मात्र अंक बटुलिन् । त्यस्तै विश्व नम्बर चारकी युवा स्टार नाओमी ओसाकाले डायना यस्ट्रिमस्कालाई ६–३ र ६–१ ले सहजै हराउँदै क्वार्टरफाइनलमा स्थान बनाइन् । पुरुषतर्फ विश्व नम्बर एक नोभाक जोकोभिचले यस वर्ष लगातार २०औं खेलमा सोझो सेटमार्पmत जित निकाल्न सफल भए । उनले अमेरिकाका टेनिज सन्डग्रेनमाथि ६–२ र ६–४ को सहज जित निकालेका थिए । गत फेब्रोअरीमा अस्ट्रेलियन विजेता जोकोभिच यस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । फोरह्यान्ड सटमार्पmत जित सुरक्षित गराएका जोकोभिचले ८८ मिनेट समय लगाएका थिए । (स्रोत ः नागरिक अनलाईन)